काठमाडौं । प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष केपी शर्मा ओलीले आफू स्थायी कमिटीले गरेका निर्णय कार्यान्वयन गर्न तयार रहेको बताएका छन्।
बिहान पहिले बनाइएको विवाद समाधान कार्यदलका सदस्यसँग छलफल गर्दै प्रधानमन्त्री ओलीले स्थायी कमिटीका निर्णय मान्न तयार रहेको बताएको छलफलमा सहभागी नेता सुरेन्द्र पाण्डेले जानकारी दिए।
प्रधानमन्त्रीसँगको छलफल सकारात्मक रहेको नेता पाण्डेले बताए। प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भएको छलफलमा ओली निकट कार्यदल संयोजक महासचिव विष्णु पौडेल, लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेल र वरिष्ठ नेता माधवकुमार नेपाल निकट भीम रावल र सुरेन्द्र पाण्डे सहभागी थिए।
स्वास्थ्य र व्यस्तताको कारण देखाउँदै प्रचण्ड निकट सदस्य जनार्दन शर्मा र पम्फा भुषाल भने सहभागी भएनन् । गत भदौमा सम्पन्न स्थायी कमिटीको निर्णय कार्यान्वयन नहुँदा समस्या आएको भन्दै चर्को आलोचना भएपछि प्रधानमन्त्री ओलीले कार्यदलका सदस्यसँग छलफल गरेका हुन्।
गत साउन ३० गते नेकपा अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले गठन गरेको कार्यदलको सुझावका आधारमा भदौ २६ गते स्थायी कमिटी बैठकले १५ बुँदे निर्णय गरेपछि संकट टरेको मानिएको थियो।
तर, कर्णाली प्रदेश र मन्त्रिपरिषद् पुनर्गठन, रअ प्रमुखको नेपाल भ्रमणलाई लिएर नेकपा फूट नजिक पुगेको छ। कार्यदलका सदस्यले स्थायी कमिटीका निर्णय कार्यान्वयनमा दबाब दिइरहेका छन्।
स्थायी कमिटीका निर्णय कार्यान्वयन नहुँदा समस्या आएको कार्यदल सदस्यको बुझाई छ। त्यसैले उनीहरुले सामूहिक छलफल गरेपछि प्रधानमन्त्रीलाई भेटेको बताइको छ। प्रधानमन्त्रीपछि कार्यकारी अध्यक्षलाई पनि भेटेर कुरा राख्ने कार्यदलका सदस्यको तयारी छ।