बुटवल–ठूलो सकसपछि मंगलबार प्रदेश सभाको दुई तिहाइ मतले प्रदेशको नाम लुम्बिनी र स्थायी राजधानी दाङको भालुवाङलाई स्थायी तोकेको छ।
राजधानी र नाम घोषणाभएसँगै प्रदेश सभाको छैठौं अधिवेशन अन्त्य भएको छ। अब धेरैको जिज्ञाशा प्रदेश सभाको सातौ अधिवेशन नयाँ राजधानीमा होला या अस्थायी राजधानीमै होला ? मुख्यमन्त्री कार्यालय सहितका मन्त्रालयहरु तत्काल देउखुरी जालान् या केही वर्ष यहीँ बस्लान ?
प्रदेश सभाबाट स्थायी राजधानी तोकिएको मुख्य ठाउँ दाङको राप्ती गाउँपालिकामा पर्छ। राजधानी तोकिएपछि यो गाउँपालिकामा भव्य स्वागतसँगै संरचनाको सोधीखोजी हुन थालेको छ।
गाउँपालिकाका अध्यक्ष नुमानन्द सुवेदीले स्थायी राजधानीको लागि पूर्वाधार बनाउन पर्याप्त जग्गा रहेको बताए। उनले तत्काल राजधानीबारेको निर्णय कार्यान्वयन भएमा राप्ती प्राविधिक शिक्षालयको भवनहरुलाई उपयोग गर्न सकिने उल्लेख गरे।
‘राप्ती प्राविधिक शिक्षालय छ, मन्त्रालय र मन्त्रीका क्वाटरहरु त्यहाँ रहन सक्छन्’–उनले भने–‘हाम्रो गाउँपालिकाको सभाहलमा संसद भवन राख्न सकिन्छ।’
सुवेदीले तत्काल प्रदेशका संरचना आउलान या नआउलान् भन्ने बारे आफूले केही भन्न नसक्ने बताए। ‘नेताहरुसँग यसबारेमा मेरो कुरै भएको छैन’–उनले भने।
गाउँपालिका अध्यक्ष सुवेदीले देखाएजस्तै राप्ती प्राविधिक शिक्षालयलाई प्रदेश संरचनाको रुपमा उपयोग गर्न गाह्रो छ।
शिक्षालयका प्रिन्सिपल मोतीलाल चौधरीले अहिलेको अवस्थाले प्रदेशलाई संरचना दिन गाह्रो रहेको बताए।
‘कलेजमा नयाँ कार्यक्रमहरु थपिइरहेका छन्, भरखरै २ वटा कार्यक्रम थपियो। त्यसको लागि कहाँ व्यवस्थापन गर्ने भन्ने छ। हामीलाई नै ठाउँ अभाव भइरहेको छ’–उनले भने–‘राज्यले चाहयो भने त अर्को कुनै ठाउँ दिएर उपयोग गर्न सक्छ। प्राविधिक शिक्षालयको लागि त्यो पनि गाह्रो हुन्छ।’
शिक्षालयमा अहिले ८ सय जना विद्यार्थी रहेका छन्। चौधरीले प्रदेश सरकारले शिक्षालयको संरचना उपयोग गर्ने बारे अनौपचारिक छलफल पनि नभएको बताए।
स्थायी राजधानी घोषणा भएपछि जिल्ला जानेक्रममा प्रदेश सभा सदस्यहरु भालुवाङ पनि पसेर संरचना भएका स्थान र खुला जमीनको अवलोकन गरेका छन्।
उनीहरुले स्थानीय जनप्रतिनिधिहरुसँग भेटघाट गरेर राजधानीका लागि संरचना बनाउने क्षेत्रको बारेमा छलफल गरेका थिए।
सांसदहरुले स्थानीय जनप्रतिनिधिहरुलाई तत्कालका लागि केही प्रदेशका संरचना आउन सक्ने बताएका थिए।
‘आज पनि दाङ, बाँके बर्दियाका सांसदहरु बुटवलबाट फर्किदै गर्दा गाउँपालिकामा पुग्नुभएको थियो’–गाउँपालिकाकाका प्रवक्ता विद्याशरण चौधरीले भने–‘उहाँहरुले तत्काल दुई चार वटा संरचना ल्याएर काम सुरु गर्दै गर्ने र अरु संरचनाहरु पूर्वाधार बनेपछि विस्तारै आउँछन् भन्नुभएको थियोे।’
प्रदेशको स्थायी राजधानी दाङ लैजान सभामुख पूर्णबहादुर घर्ती र आन्तरिक मामिला तथा कानुन मन्त्री सुरुदेखि नै निकै हतारिएको उनीहरुका अभिव्यक्तिबाट बुझ्न सकिन्थ्यो।
मंगलबार प्रदेश सभाको बैठकमा स्थायी राजधानी र नामाकरण दुई तिहाइले पारित भएको घोषणा गरेपछि सभामुख पूर्णबहादुर घर्तीले थोरै समय आफ्नो मन्तव्य पनि राखे।
‘अस्थायी राजधानीमा पर्याप्त भौतिक पूर्वाधारको अभाव, आवश्यक कर्मचारीहरुको अभाव तथा नयाँ अनुभव आदि थुपै कारण र अभावका विचमा हामीले प्रदेश सभा सञ्चालन गरेको सबै माननिय सदस्यहरुलाई अवगत नै छ’–उनले भनेका थिए–‘यी समस्याका बाबजुत यहाँसम्म आइपुग्दा प्रदेशलाई व्यवस्थीत र मर्यादित बनाउने, सचिवालय र सभा सञ्चालनमा सुधार हुँदै आएको छ।’
घर्तीले प्रदेश सभा पहिलो बैठक बसेदेखि हालसम्म ९ सय ६७ दिन बितेको जानकारी समेत प्रदेश सभालाई गराए। राजधानी र नामाकरण टुंगो लगाएर प्रदेश सभाले महत्वपूर्ण उपलब्धि गरेकाले विगतलाई सम्झनु स्वभाविक नै हो।
तर प्रदेश सभाको दिन गनेर पूराना संरचना सम्झदै गर्दा मंगलबारको प्रदेश सभा बैठक अस्थायी राजधानीकै अन्तिम बैठक भनेर संकेत पो दिएका हुन् कि भनेर अनुमान लगाउन सकिन्छ।
तर राजधानीका संरचना तत्काल सार्ने वा केही वर्ष पर्खिने भन्ने कुरो अबको लुम्बिनी प्रदेश सरकारको निर्णयमा भर पर्छ। मुख्यमन्त्री शंकर पोखरेलले मंगलबार प्रदेश सभाको बैठकमा बोल्दै स्थायी राजधानी तोकिएपनि त्यहाँ पूर्वाधार तयार नभइकन नसर्ने बताएका थिए।
‘आज हामीले निर्णय गरेपछि प्रदेशको राजधानी भालुवाङ लाने भन्ने खालको कुरा होइन, संरचना बनाउने कुरा हो’–उनले भने–‘जबसम्म स्थायी संरचना बनिसक्दैन हामी बस्ने कहाँ हो भन्दा यही बस्ने हो, निर्णय गर्ने बित्तिकै सरिहाल्ने भन्ने कुरा सत्य होइन भन्ने कुरा हामीले बुझ्नु पनि जरुरी छ।’
मुख्यमन्त्रीले रुपन्देहीबासीलाई आश्वासन दिन मात्र त्यो कुरा व्यक्त गरेका हुन् कि मनैदेखिको कुरा हो भन्ने कुरा समयक्रमसँगै थाहा हुने छ।