बुटवल-प्रदेश ५ को राजधानी सार्ने प्रस्ताव पास भएमा रुपन्देहीका २ हजारभन्दा बढी उद्योगी व्यवसायीले नेकपाको पार्टी सदस्यता त्याग्ने घोषणा गरेका छन्।
प्रदेश सभामा पेश भएको राजधानी र नामाकरणसम्बन्धि प्रस्ताव पास हुने तयारीमा रहेको समयमा पत्रकार सम्मेलन गर्दै व्यवसायीहरुले नेकपाको सदस्यता त्याग्ने घोषणा गरेका हुन्।
नेकपा जिल्ला कमिटि सदस्य तथा नेपाल उद्योग परिसंघका प्रदेश अध्यक्ष एजाज आलमले नेकपा नेतृत्वको सरकारले जनभावनाविपरीत राजधानी सार्ने तयारी गरेको भन्दै रुपन्देहीका २ हजार २ सय ४९ जना पार्टी सदस्यले राजीनामा दिने बताए।
रुपन्देही उद्योग संघका अध्यक्ष बाबुराम बोहराले रुपन्देहीका आमजनता र पार्टी सदस्यहरुको भावनाको विपरीत गएर प्रस्ताव ल्याएकाले पार्टीमा बस्नुको औचित्य नभएको बताए।
पत्रकार सम्मेलनमा उद्योगी व्यवसायीहरु माधव नेपाल, मोतीलाल पाण्डे, समुन्द्र जिसीलगायतले बोल्दै पार्टीमा रहनुको कुनै औचित्य नरहेकाले राजीनामा दिने बताएका थिए।