बुटवल–प्रदेश ५ को प्रदेश सभामा तोडफोड र नाराबाजीका बीच स्थायी राजधानी र नामाकरणको प्रस्तावबारे छलफल अघि बढेको छ। शुक्रबार प्रदेश सभामा दाङको देउखुरी उपत्यकालाई प्रदेशको स्थायी राजधानी बनाउने र लुम्बिनी नामाकरण गर्ने प्रस्ताव पेश भएको थियो।
दिउसो १ बजे बसेको प्रदेशसभाको पहिलो बैठक विपक्षी कांग्रेसको नाराबाजी र अवरोधका कारण स्थगित भएको थियो। दोस्रो बैठक तनावका बिच सुरु भएको हो। बैठकको सुरुवात गर्दा विपक्षी कांग्रेसका सांसदहरुले नाराबाजी गरेका थिए।
नाराबाजीका बीच सभामुखले पूर्णबहादुर घर्तीले बैठकलाई अगाडि बढाएका थिए। उनले आन्तरिक मामिला तथा कानुन मन्त्री कुलप्रसाद केसीलाई राजधानीको प्रस्तावमा छलफल गरियोस् भन्ने प्रस्ताव पेश गर्न समय दिएका थिए।
अवरोधका बीच मन्त्री केसीले रोष्ट्रममा पुगेर बोल्न थालेपछि विपक्षी सांसदहरुले नाराबाजी सहित कुर्सी, टेबुल र माइक तोडफोड गरेका हुन्।
तोडफोड र नाराबाजी चल्दै गर्दा सभामुखले छलफलको सुरुवात गरेका थिए।
छलफलको सुरुमा बोल्दै सत्तारुढ नेकपाका प्रदेश सभा सदस्य भोजप्रसाद श्रेष्ठले सरकारले के का आधारमा राजधानीको प्रस्ताव गरिएको भनेर प्रश्न गरे। रुपन्देहीका सांसद रहेका उनले लोकतान्त्रिक प्रक्रिया नअपनाइकन राजधानीको प्रस्ताव आएको बताए।
‘प्रतिवेदनमा छलफल गर्ने मौका नै दिइएन। के आधारमा प्रदेशको केन्द्र तोकियो सांसदहरुलाई थाहा दिनुपर्छ–उनले भने–‘राजधानीको बारेमा प्रदेश सभामा विशेष समिति र प्राविधिक समिति बनेको छ, तर त्यो प्रतिवेदन हेर्न पाइएन।’
उनले दुवै समितिका प्रतिवेदन माथि छलफल गर्ने अवसर सबै सांसदहरुलाई दिनुपर्ने बताए। राजधानीको सम्बन्धमा कुनै परामर्श नगरी रणनीतिक रुपमा ल्याइएको उल्लेख गरे। बोल्दाबोल्दै माइक काटिएपछि पनि उनले बोल्न पाउनुपर्ने माग गर्दै हात उठाएर उभिएका थिए। उनीपछि समय पाएका कपिलवस्तुका सांसद विष्णु पन्थीले कपिलवस्तुमै राजधानी राख्नुपर्ने बताएका थिए।
नाराबाजीका बीच आधादर्जन बढी सांसदले छलफलमा भाग लिएका थिए। छलफलमा बोल्दै साविक लुम्बिनी क्षेत्रका सांसदले प्रस्तावको विरोध गरेका थिए। भने साविक राप्ती र भेरीका सांसदले प्रस्तावको समर्थन गरेका थिए। भोलि मंगलबार पुनः बैठक बस्ने गरी स्थगित भएको छ।
त्यसअघि सोमबार नै बसेको प्रदेश सभाको पहिलो बैठक विपक्षी कांग्रेसको नाराबाजीका कारण स्थगित भएको थियो।
बैठक सुरु हुँदा विपक्षी कांग्रेसका सांसदले नाराबाजी गरेका थिए। नाराबाजी गरेपछि सभामुखले कांग्रेसका सांसदलाई बोल्न दिएका थिए।
कांग्रेस संसदीय दलका नेता विरेन्द्र कनौडियाले मुख्यमन्त्री शंकर पोखरेलले प्रधानमन्त्रीको बुइ चढेर तानाशाही ढंगले प्रस्ताव ल्याएको बताए।
उनले राजधानी जस्तो प्रस्ताव सहमतिमा आउनुपर्नेमा निषेधित क्षेत्र घोषणा गरेर तानाशाही शैलीमा आएको बताए।
सहमतिबाट राजधानीको निकास निकाल्न तयार हुँदाहुँदै सरकारले २ तिहाइको बलमा एकलौटी तरिकाले प्रस्ताव ल्याएको आरोप लगाएका थिए।
‘राजधानीबारे सहमतिबाट निकास निकालौं सहयोग गर्न तयार छौं’ प्रदेश सभामा रहनुभएका मुख्यमन्त्रीलाई भने ‘दुइ तिहाइ बहुमतले पेलेर लैजाने काम नगर्नुहोस्। प्रधानमन्त्रीको बुइ चढेर र बैशाखी टेकेर प्रस्ताव ल्याएकोमा हाम्रो आपत्ति छ।’
कनौडियाले रुपन्देही जस्तो पूर्वाधार र संरचना भएको ठाउँ छोडेर अरबौं खर्च गर्न नयाँ ठाउँमा राजधानी बनाउने औचित्य के हो भनी प्रश्न गरे।
कनौडिया बोलेपछि नाराबाजी जारी रहेपछि पहिलो बैठक स्थगित आधा घण्टाको लागि स्थगित गरिएको थियो।
संसदीय दलको बैठकबाट निर्णय गरेरै प्रदेश सभा बैठक अवरोध गरेपनि कांग्रेसका ६ जना सांसद भने प्रदेश सभामा उपस्थित थिएनन्।
राजधानी दाङमै राख्नुपर्ने पक्षमा रहेका साविक राप्ती र भेरी अञ्चल अन्तर्गत जिल्लाका कांग्रेसका सांसद प्रदेश सभामा उपस्थित भएका थिएनन्।