बुटवल–प्रदेश राजधानी सार्ने प्रस्तावको विरोधमा प्रदेश सभा भवन प्रवेशद्वारमा आन्दोलनकारीहरुले धर्ना दिइरहेका छन्।
प्रदेश सभा भवन प्रवेश गर्ने ठाउँ नेपालगञ्ज रोडमा यस क्षेत्रका केही जनप्रतिनिधि, व्यवसायी तथा दलका कार्यकर्ताहरुले धर्ना दिइरहेका हुन्। उनीहरुले सडकमा कालो व्यानर राखेर राष्ट्रिय झण्डा सहित प्रदर्शन गरिरहेका छन्।
प्रर्दशनका क्रममा रुपन्देहीका स्थानीय तहका प्रमुख तथा उपप्रमुखहरुले प्रदेशका राजधानी सार्ने प्रस्तावमा मतदान नगर्न लुम्बिनी क्षेत्रका सांसदहरुलाई आग्रह गरेका थिए।
कार्यक्रममा बुटवल उपमहानगरपालिकाकी उपमेयर गुमादेवी आचार्यले राजधानी सार्ने प्रस्तावको विपक्षमा नडराइकन मतदान गर्न सांसदहरुलाई आग्रह गरिन्।
उनले प्रस्तावको विपक्षमा मतदान गरेर पार्टीले कारबाही गरे पनि फेरि पनि जनताले जिताएर पठाउने दाबी गरिन्। तिलोत्तमा नगरपालिकाका मेयर वासुदेव घिमिरेले व्यवसायीहरुले सुविधासम्पन्न भवन दिदा पनि बन्जर ठाउँमा गएर जनताको अरबौं रकम खर्चिन खोजेको आरोप लगाए।
देवदह नगरपालिकाका मेयर हिराबहादुर खत्रीले प्रदेशको अहित हुने गरी राजनैतिक शक्तिको आडमा मुख्यमन्त्रीले आफ्नो अभिस्ट पूरा गर्न लाग्नु खेदपूर्ण भएको बताए।
प्रदर्शनका क्रममा व्यवासायीहरुले पनि ह्वीप उल्लंघन गरेर भएपनि प्रदेशको राजधानी सार्न नदिन यस क्षेत्रका सांसदहरुलाई आग्रह गरेका थिए।
सो अवसरमा कम्युनिष्ट पार्टी समर्थित व्यवसायीले जनभावना विपरित सांसदहरुले राजधानी सार्ने प्रस्तावको पक्षमा मत दिए आफूहरुले पार्टी छाड्ने चेतावनी दिएका थिए।
आफूहरु २ हजार कम्युनिष्ट पार्टी समर्थित व्यवसायीले हस्ताक्षर गरेर पार्टी कार्यालयमा बुझाएको र यस क्षेत्रका सांसदले राजधानी सार्ने प्रस्तावको पक्षमा मतदान गरे पार्टीबाट अलग हुने होटल तथा रेष्टुरेन्ट व्यवसायी संघ रुपन्देहीका अध्यक्ष समुद्र जिसीले बताए।
आन्दोलनकारीलाई प्रवेश गर्न नदिन सिन्दुर होटल अगाडि ठूलो संख्यामा प्रहरी परिचालन गरिएको छ। प्रदेश सभा सदस्यहरु बुटवलको नयाँ बसपार्क लगायत अन्य ठाउँबाट संसद भवन प्रवेश गरेका थिए।
प्रदेश सभा भवन अगाडि पनि सुरक्षा व्यवस्था कडा पारिएको छ। बुटवलका चोक चोककमा ठूलो संख्यामा नेपाल प्रहरी र सशस्त्र प्रहरी परिचालन गरिएको छ।