बुटवल-विपक्षी दल नेपाली कांग्रेसका नेता विरेन्द्रपसाद कनौडियाले मुख्यमन्त्री शंकर पोखरेलले प्रधानमन्त्रीको बुइ चढेर तानाशाही ढंगले प्रस्ताव ल्याएको बताएका छन्।
उनले राजधानी जस्तो प्रस्ताव सहमतिमा आउनुपर्नेमा निषेधित क्षेत्र घोषणा गरेर आन्दोलनकारीलाई पक्राउ गरेर ल्याउने तानाशाही भएको उल्लेख गरे।
सहमतिबाट राजधानीको निकास निकाल्न तयार हुँदाहुँदै सरकारले २ तिहाइको बलमा एकलौटी तरिकाले प्रस्ताव ल्याएको उनको आरोप थियो।
‘राजनीति सहमतिबाट निकास निकालौं सहयोग गर्न तयार छौं’-उनले मुख्यमन्त्रीलाई भने-‘२ तिहाइ बहुमतले पेलेर लैजाने काम नगर्नुहोस । प्रधानमन्त्रीको बुइ र बैशाखी चढेर प्रस्ताव ल्याएकोमा हाम्रो आपत्ति छ।’
कनौडियाले रुपन्देही जस्तो पूर्वाधार र संरचना भएको ठाउँ छोडेर अरबौं खर्च गर्न नयाँ ठाउँमा राजधानी बनाउने औचित्य के हो भनी प्रश्न गरे।
राजधानी ख्याल ठट्टाको विषय नभएको भन्दै उनले नयाँ ठाउँमा होटल रिसोर्ट मात्र खोल्न सकिने बताए। कनौडिया बोलेलगत्तै नेपाली कांग्रेस र जनता समाजवादीका सांसदले नाराबाजी गरेका थिए। अर्को बैठक २ बजे बस्ने तय भएको छ।