बुटवल-सत्तारुढ दल नेकपाका महासचिव विष्णु पौडेलले प्रदेश ५ को राजधानी दाङ सार्ने निर्णयमा पुनर्विचार गर्न पार्टी अध्यक्षद्वय केपी ओली र पुष्पकमल दाहाल प्रचण्डसँग माग गरेका छन्।
आइतबार प्रधानमन्त्री निवास बालुवाटारमा अध्यक्षद्वय, पौडेल र प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेल र स्थायी कमिटि सदस्य जनार्दन शर्मासहितको बैठकमा पौडेलले यस्तो माग राखेका हुन्। बैठकमा पौडेलले रुपन्देहीबाट राजधानी नसार्न माग राखेको र पोखरेलले दाङ राजधानी सार्ने निर्णयको पक्षमा अडान लिएका थिए।
अध्यक्षद्वयको आश्वासनबारे पुनर्विचार गर्ने विषयमा कुरा अघि नबढेपछि मुख्यमन्त्री बुटवल फर्किएको श्रोतले जनाएको छ।
अध्यक्षद्वयले दिएको आश्वासनअनुसार नेकपा सचिवालय बैठकमा नै प्रस्ताव लगेमा पनि पौडेल बुटवलको पक्षमा एक्लो हुनेछन्। नेकपाको ९ सदस्यीय सचिवालयमा अध्यक्षद्वय, नेता वामदेव गौतम, रामबहादुर थापा बादल र इश्वर पोखरेल पनि दाङकै पक्षमा छन्।
दाङ राजधानी सार्ने प्रस्ताव प्रदेश सरकारले सदनमा दर्ता गरेपछि रुपन्देहीमा भने आन्दोलन चर्किएको छ। नेकपा रुपन्देहीले समेत आन्दोलनलाई नैतिक समर्थन दिदै राजधानी सार्ने प्रस्ताव फिर्ता लिन माग गरेको छ।
१४ जना प्रदेश सभा सदस्यले समेत लिखित रुपमा फरक मत राखेपछि मुख्यमन्त्रीलाई नैतिक दबाब परेको छ। तर नेकपाले ह्वीप लगाएमा भने नेकपा सांसदहरुले पार्टी निर्णयविरुद्ध जानसक्ने सम्भावना न्यून छ।