बुटवल–रुपन्देहीका व्यवसायीहरुले बुटवलबाट राजधानी सार्न लागेको हो भने आजैदेखि आफ्ना भवन खाली गरिदिन चेतावनी दिएका छन्।
प्रदेश सभामा पेश भएको राजधानी सार्ने प्रस्तावको विरुद्ध व्यवसायिक सञ्जालले बुटवलमा गरेको प्रदर्शनका क्रममा रुपन्देहीका व्यवसायीहरुले कुनै हालतमा राजधानी सार्न नदिने बताए।
बुटवलको ट्राफिकचोकमा भएको प्रदर्शनमा सञ्जालका संयोजक तथा बुटवल उद्योग वाणिज्य संघका अध्यक्ष खिमबहादुर हमालले आजैदेखि भवन खाली गर्न चेतावनी दिए।
‘राजधानी बनाउन हाम्रो संरचना दियौं त्यही भवनमा बसेर तलब भत्ता लिनु भएको छ, माननीय मुख्यमन्त्री ज्यू, हिम्मत छ भने आजैदेखि हाम्रो भवन खाली गरिदिनुहोस’–उनले भने–‘निजी क्षेत्रले दिएको संरचनामा उहाँको आँखा गएन, पूर्वाधार नभएको भालुवाङ जस्तो ठाउँमा राजधानी सार्ने जुन जमर्को गर्नुभएको छ, त्यसको खबरदारी हो यो कार्यक्रम।’
हमालले भोलि प्रदेश सभा भवन घेर्ने भन्दै त्यसको लागि तयार हुन आह्वान गरे। उनले संसदीय दलको बैठकमा नोट अफ डिसेन्ट लेखेका सांसदलाई आन्दोलनको पक्षमा आउन आग्रह गरे।
नेपाल उद्योग परिसंघ प्रदेश ५ का संयोजक एजाज आलमले यस क्षेत्रका सांसदले अडान लिएर ह्वीप नमान्ने हो भने राजधानी सर्नबाट रोक्न सकिने उल्लेख गरे।
‘शंकर पोखरेलले आफ्नो जिल्लामा राजधानी लैजान जुन अडान लिनुभएको छ, त्यस्तै अडान हाम्रा यहाँका माननीयले लिनुपर्यो’–उनले भने–‘यहाँका पाँच सातजना सांसदले क्रस भोट गर्ने हो भने दुई तिहाइ पुग्दैन, दुइ तिहाइ पुगेन भने राजधानी उता जाँदै जाँदैन।’
आलमले खुट्टा नकमाइकन जनताको पक्षमा मतदान गर्न नेकपाका सांसदलाई आग्रह गरे।
‘आज हाम्रा कतिपय माननीयज्युहरुले कारवाही हुन्छ कि भनेर डराउनुभएको छ, कारबाहीमा त यसै पनि पर्नुहुन्छ’–उनले भने–‘यदि तपाई यही ठाउँबाट उठ्न पर्यो भने पार्टीले तपाईलाई टिकट त देला तर जनताले मत दिने छैनन्, त्यसबेला तपाई हार्नुहुन्छ लेखेर राख्नुहोस्।’
क्रस भोट गरेर अघि बढे जित्ने ग्यारेन्टी जनताले गर्ने आलमको भनाइ छ। त्यसबेला स्वतन्त्र उठेपनि जित्ने उनले बताए।
आलमले आफूहरुलाई अघि बढाएर पार्टीका नेता अहिले पछि हटेको आरोप लगाए। ‘केही समय अघि केही माननीयले हामीलाई बोलाएर राजधानी जान सक्छ तपाईहरु अघि बढ्नुस् भन्नुभएको थियो, आज हामीलाई अघि सारेर आफू पछि हट्ने’–उनले प्रश्न गरे।
‘हेटौडामा राजधानी तोकिँदा त्यहाँ अपायक नपर्ने, अरु ठाउँमा पनि अस्थायी भएकै ठाउँमा स्थायी राजधानी हुने तर प्रदेश ५ लाई मात्र सबैलाई केन्द्रविन्दु चाहिने?’–आलमले मुख्यमन्त्रीलाई प्रश्न गरे।
नेपाल चेम्बर अफ कर्मशका केन्द्रीय सदस्य टंक पोखरेलले हिम्मतका साथ विपक्षमा मतदान गर्न नेकपाका सांसदलाई आग्रह गरे।
‘विपक्षमा मतदान गर्नुहोस्, हिम्मतका साथ अघि बढ्नुहोस्, तपाइँहरुका साथमा हामी छौं–उनले भने–जनता पछाडि भएपछि कुनै कुराले रोकिनुपर्दैन।’
पोखरेलले भोलिदेखि हुने छलफल र मतदानमा प्रदेश सरकारको विपक्षमा लाग्न आग्रह गरे।
पश्चिम नेपाल बस व्यवसायी प्रालिका अध्यक्ष दधि खरेलले राजधानी सार्ने निर्णय फिर्ता नलिए अनिश्चितकालसम्म आन्दोलन गरेर देखाउने चेतावनी दिए।
उनले ह्वीपको डरले जनभावना विपरित मतदान नगर्न सांसदहरुलाई आग्रह गरे। ‘लाग्छ राजनीतिक दृष्टिकोणले तपाइँहरुलाई ह्वीपको कुराहरु आउन सक्छन्, ह्वीपको डरले जनभावना विपरित जानुभयो भने, तपाईहरुले ठूलो मूल्य चुकाउन पर्छ’–उनले भने–‘राम्रो मान्छे हाम्रो मान्छे बन्न सके यहाँ स्वतन्त्र उमेद्वारले पनि जित्न सक्छ।’
मुलुकलाई कोरोनाले थिलोथिलो पारेको बेला प्रदेश सरकारले जनतालाई सडकमा आउन बाध्य बनाएको खरेलले उल्लेख गरे।
रुपन्देही उद्योग संघका कार्यवाहक अध्यक्ष माधव पौडेलले सरकारले गरेको निषेधाज्ञासँग नडराउने बताए। उनले आन्दोलनले रुपन्देहीलाई राजधानी कायम गरेरै छाड्ने बताए।
संघर्ष समितिका अर्का सदस्य खेम लुइटेलले रुपन्देहीमै राजधानी स्थापित गर्न आफूहरु आन्दोलनमा आएको बताए।
यहाँको पूर्वाधार अलपत्र पारेर राजधानी अन्यत्र सार्न नदिने बताए। उनले रुपन्देहीका सांसदले खुट्टा टेक्ने हो भने राजधानी नसर्ने उल्लेख गरे।
कार्यक्रमको सञ्चालन गर्दै रुपन्देही व्यापार संघका अध्यक्ष यमलाल लोहनीले आन्दोलनमा साथ दिन रुपन्देहीका सांसदहरुदलाई आग्रह गरे।
त्यसअघि राजमार्ग चौराहाबाट शुरु भएको विरोध जुलुस ट्राफिक चोकमा पुगेर सभामा परिणत भएको थियो।