बुटवल-प्रदेश सभामा दर्ता भएको प्रदेश ५ को राजधानी सार्ने प्रस्ताव पास गराउन ह्वीप लगाउने निर्णय गरेर मुख्यमन्त्री शंकर पोखरेल काठमाडौं गएका छन्।
प्रदेश ५ को राजधानी दाङमा सार्ने अन्तिम तयारीमा जुटेका मुख्यमन्त्री पोखरेल थप परामर्शका लागि प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्न शनिबार काठमाडौँ गएका हुन्।
अस्थायी राजधानी रहेको बुटवलमै प्रदेश राजधानी हुने अपेक्षा स्थानीय तथा त्यहाँका नेताहरुले गरेको स्थितिमा दाङमा राजधानी लैजाने निर्णय आएपछि बुटवलमा आन्दोलन चर्किएको छ। प्रतिपक्षी दल कांग्रेसले रुपन्देही बन्दको आह्वान गरेका छन् भने संघसंस्थाहरु पनि आन्दोलनमा छन्।
रुपन्देहीका सबै स्थानीय तहले राजधानी रुपन्देहीबाट नसार्न आग्रह गरेपछि सार्वजनिक रुपमा मुख्यमन्त्रीको विपक्षमा जनमत खडा भएको छ।
मुख्यमन्त्री पोखरेलले आफ्नो क्याबिनेटका मन्त्रीहरुलाई समेत पूर्वजानकारी र छलफल नगरी प्रस्ताव क्याबिनेटमा ल्याएर पास गरेलगत्तै सदनमा पेश गरेपछि केही मन्त्रीहरु पनि उनीसँग असन्तुष्ट छन्। मुख्यमन्त्रीको कदममा साबिकको लुम्बिनी अञ्चलका अधिकांश सांसदले असहमति जनाएका छन्।