बुटवल-प्रदेश ५ को स्थायी राजधानी दाङ बनाउने प्रस्तावको विरुद्धमा रुपन्देहीमा आन्दोलन चर्किन थालेको छ।
शुक्रबार सरकारको तर्फबाट सदनमा प्रस्ताव पेश भएपछि प्रमुख प्रतिपक्षी दल कांग्रेस, रुपन्देहीका स्थानीय तह, रुपन्देहीका सामाजिक संघसंस्थाहरुले प्रस्तावको विरोध जनाएका छन्।
आन्दोलन बुटवलकेन्द्रित छ। बुटवलमा आइतबार बिहान ८ बजे दल र संघसंस्थाहरुले राजमार्ग चौराहाबाट विरोध प्रदर्शन गर्ने जनाएका छन्।
कांग्रेसका चरणबद्ध कार्यक्रम
प्रमुख प्रतिपक्षी दल कांग्रेसले शनिबार बेलुका रुपन्देहीमा मसाल जुलुस गरेको छ। रुपन्देहीका स्थानीय तहहरुमा मसाल जुलुस गर्दै कांग्रेसले प्रस्ताव फिर्ता लिन माग गरेको छ।
रुपन्देही कांग्रेसका अनुसार स्थानीय तहहरुमा कांग्रेसका पालिकास्तरका समिति र भ्रातृ संगठनले विरोधका कार्यक्रम गरेका छन्। बुटवलमा भएको मसाल जुलुस कार्यक्रममा बोल्दै कांग्रेस रुपन्देहीका सचिव रामकृष्ण खाँणले प्रदेश सरकारले प्रस्ताव फिर्ता नलिए आन्दोलन जारी राख्ने बताए।
कांग्रेसले आइतबार रुपन्देही बन्द र सोमबार प्रदेश सभा घेराउसम्मका कार्यक्रम सार्वजनिक गरेको छ भने संघसंस्थाहरुले पनि विरोध प्रदर्शन र प्रदेश सभा घेराउका कार्यक्रम सार्वजनिक गरेका छन्।
स्थानीय तहहरुको माग-रुपन्देहीलाई नै स्थायी राजधानी घोषणा गर
स्थानीय तहहरुले प्रदेश सरकारलाई प्रस्ताव फिर्ता लिएर रुपन्देहीलाई स्थायी राजधानी घोषणा गर्न माग गरेका छन्। रुपन्देहीका स्थानीय तहका प्रमुख र उपप्रमुखहरुको बैठकले प्रशासनिक र जनसंख्याका दृष्टिले रुपन्देही नै उपयुक्त रहेको भन्दै प्रदेश सभामा पेश भएको प्रस्ताव फिर्ता लिन माग गरेका हुन्।
बुटवल उपमहानगरपालिकामा बसेको बैठकमा बुटवल, तिलोत्तमा, सैनामैना, देवदह, सिद्धार्थनगर, लुम्बिनी, कञ्चन, सियारी, गैडहवा, रोहिणी, मर्चवारीलगायतका स्थानीय तहका प्रमुख/उपप्रमुख तथा प्रतिनिधि सहभागी थिए।
उनीहरुले रुपन्देहीमा पूर्वाधारका हिसाबले गरिएको लगानी र यस क्षेत्रका संघसंस्थाहरुसमेतले प्रदेशको संरचना निर्माणमा गरेको योगदानको कदर गर्न समेत माग गरेका छन्।
संघसंस्था एकजुट भएर आन्दोलनमा
शनिबार बुटवल उद्योग बाणिज्य संघमा बसेको रुपन्देहीका व्यवसायिक संघसंस्थाहरुको सञ्जालको बैठकले सरकारले पेश गरेको निर्णयको बिरोध गर्दै सरकारलाई फिर्ता गर्न दवाव सिर्जना गर्नका लागि संघर्ष समिति समेत गठन गरेको छ।
बैठकले बुटवल उद्योग बाणिज्य संघ रुपन्देहीका अध्यक्ष खिमबहादुर हमालको संयोजकत्वमा १५ सदस्यीय संघष समिति गठन गरेको हो।
संघर्ष समितिको सदस्यहरुमा रुपन्देही व्यापार संघका अध्यक्ष यमलाल लोहनी, रुपन्देही उद्योग संघका कार्यवाहक अध्यक्ष माधव पौडेल, पश्चिम नेपाल बस व्यबसायी प्रालिका अध्यक्ष दधिराम खरेल, नेपाल उद्योग परिसंघका केन्द्रीय सदस्य एजाज आलम, मणिमुकुन्द उधान समितिका अध्यक्ष खेमप्रसाद लुईटेल, नेपाल चेम्बर अफ कमर्सका केन्द्रीय सदस्य टंकप्रसाद पोखरेल, औषधि व्यबसायी महासंघका बाबुराम भट्टराई, होटल तथा रेष्टुरेन्ट व्यबसायी संघ रुपन्देहीका अध्यक्ष समुन्द्र जिसी, नेपाल पत्रकार महासंघ रुपन्देहीका उपाध्यक्ष दिनेश पाण्डे, बुटवल औद्योगिक क्षेत्र उद्योग संघका अध्यक्ष हिरामणी भट्टराई, तिलोत्तमा व्यापार संघका अध्यक्ष जेपी कंडेल, तिलोत्तमा उद्योग बाणिज्य संघका अध्यक्ष गुणानिधी भण्डारी, नेपाल उद्योग व्यापार संगठनका नारायण भण्डारी र कोषबहादुर गुरुङ रहेका छन्।
बैठकले आईतबार बिहान बुटवलमा बिरोध र्याोली प्रदर्शन गर्ने तथा दिउँसो मुख्यमन्त्री तथा प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाउने कार्यक्रम तय गरेको छ। त्यस्तै गरी सोमबार बस्ने प्रदेश सभा बैठकलाई प्रभावित पार्नेगरी संसद भवन अंगाडी प्रदर्शन गर्ने र्काक्रम तय गरिएको रुपन्देही व्यापार संघका अध्यक्ष यमलाल लोहोनीले जानकारी दिए।
त्यस्तै सोमबार नै प्रदेश ५ मा पर्ने साविक लुम्बिनी अञ्चलका ६ जिल्ला बन्द गर्न सञ्जालले आह्वान गरेको छ। त्यस्तै संघसंस्थाहरुले आह्वान गरेका बिरोधका कार्यक्रममा साथ सहयोग गर्नका लागि समेत उद्योगी व्यबसायी तथा आम सर्वसाधारणलाई आह्वान गरिएको छ।
नियन्त्रणको तयारीमा सरकार
प्रदेश ५ को राजधानी सार्ने प्रस्तावको विरोधमा प्रदर्शन हुन थालेपछि बुटवलका चोकचोकमा प्रहरीहरु तैनाथ गरिएका छन्।
सुरक्षा व्यवस्था कडा पारिएकै अवस्थामा रुपन्देही प्रशासनले बुटवलका केही स्थानलाई निषेधित क्षेत्र तोक्दै ५ जना भन्दा बढी जम्मा हुन रोक लगाएको छ।
जिल्ला प्रशासन कार्यालय रुपन्देहीले शनिबार राती साढे ८ बजे सूचना जारी गरी असोज १८ गते आइतबार बिहान ६ बजेदेखि २१ गते बेलुका ६ बजेसम्मका लागि निषेधित क्षेत्र तोकेको जनाएको छ।
जिल्ला प्रशासन कार्यालय रुपन्देहीले प्रदेश सभा रहेको क्षेत्रमा दक्षिणमा इटाभट्टी चोक, उत्तरमा कालिका मन्दिर चोक, पश्चिममा तिनाउ खोला किनार र पूर्वमा कालिका मन्दिरदेखि इटाभट्टी चोकसम्मको कालिका पथ क्षेत्रभित्र निषेधित क्षेत्र तोकिएको जनाएको छ।
मन्त्रालयहरु रहेको दक्षिणमा सुन्दर चोक, उत्तरमा भुड्कीचोक, पश्चिममा सिद्धार्थ राजमार्ग र पूर्वमा भाटभटेनी चोकसम्म ५ जना भन्दा धेरै भेला हुन पाइनेछैन।
यस्तै मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय क्षेत्र रहेको दक्षिणमा जेसिस चोक, उत्तरमा विद्युतचोकदेखि हाटबजार जोड्ने लाइन, पश्चिममा हाटबजार लाइन र पूर्वमा सिद्धार्थ राजमार्गसम्मको क्षेत्रभित्र प्रदर्शन र भेला गर्न पाइनेछैन।