बुटवल-प्रदेश ५ सरकारले संसदमा दर्ता गराएको राजधानी सार्ने प्रस्तावमा सत्तारुढ दल नेकपाका १४ जना सांसदले फरक मत (नोट अफ डिसेन्ट) राखेका छन्।
शनिबार करीब ५ घण्टासम्म मुख्यमन्त्री निवास बुटवलमा कडा सुरक्षासाथ बसेको बैठकमा साबिक लुम्बिनी अञ्चलका सांसदहरुले सरकारले छलफल बिना ल्याएको प्रस्तावमा फरक मत राखेका हुन्।
उनीहरुले लिखित रुपमै फरक मत राखेका थिए। उनीहरुले बुटवल ऐतिहासिक, धार्मिक, सांस्कृतिक, शैक्षिक सबै हिसावले अब्बल भएको भन्दै नदी किनारमा स्थायी राजधानीको प्रस्ताव अस्वीकार्य हुने बताएका थिए।
उनीहरुले विकासले समेत गति लिन नसकिरहेको अवस्थामा भएका संरचनासमेत छाडेर अर्बौको संरचना तयार गर्नुपर्ने भएकाले देउखुरीमा स्थायी राजधानी स्थापना गर्न आवश्यक नरहेको बताएका थिए।
उनीहरुले प्रक्रिया मिचेर प्रस्ताव ल्याइएको बताएका थिए। स्थायी राजधानी र नामाकरण सिफारिस समितिले प्रदेश सभामा पेस गरेको प्रतिवेदनमाथि छलफल नै नगरी अलोकतान्त्रिक शैलीबाट नयाँ ठाउँको प्रस्ताव आएको भन्दै उनीहरुले प्रस्तावको विपक्षमा उभिने बताएका छन्।
संसदीय दलको बैठकमा रुपन्देही, पाल्पा, गुल्मी र कपिलवस्तुका केही सांसदले प्रस्तावको विपक्षीमा रहेको भन्दै फरक मत राखेका हुन्।
फरक मत राख्ने सांसदहरु
१. भोज प्रसाद श्रेष्ठ
२. कृष्ण प्रसाद न्यौपाने
३. दधिराम न्यौपाने
४. सुनिता ठडेर
५. विमला पन्थी
६. थान कुमारी थापा
७. तुल्सी प्रसाद चौधरी
८. युवराज खनाल
९. नारायण प्रसाद आचार्य
१०. रमा घर्ती मगर
११. डा. पूरन आचार्य
१२. धर्म बहादुर लाल श्रीवास्तव
१३. विष्णु प्रसाद पन्थी
१४. फौजिया मियाँ खातुन
तर रुपन्देहीका भूमिश्वर ढकाल, गुल्मीकै सामाजिक विकास मन्त्री सुदर्शन बराल, गुल्मीकै सांसद गीता थापा, खड्गबहादुर खत्री, कमलराज श्रेष्ठले भने फरक मत जनाएनन्।
प्रदेश ५ सरकारले प्रदेशको स्थायी राजधानी दाङको देउखुरी क्षेत्रमा राख्ने प्रस्ताव शुक्रबार सदनमा पेश गरेको छ।
*यसअघि १६ जना सांसदले फरक मत राखेको भन्ने जानकारी प्राप्त भएपनि लिखित विवरणमा १४ जनाको नामावली उल्लेख भएकाले सच्याइएको छ।