बुटवल-प्रदेश सरकारले प्रदेशको राजधानी दाङ बनाउने प्रदेश सभामा प्रस्ताव दर्ता गरेपछि अस्थायी राजधानी रहेको रुपन्देही जिल्लाबासीलाई दुःखी बनाएको रुपन्देहीका व्यवसायिक संघसंस्थाहरुले आग्रह गरेका छन्।
शनिबार बुटवल उद्योग बाणिज्य संघमा बसेको रुपन्देहीका व्यवसायिक संघसंस्थाहरुको सञ्जालको बैठकले उक्त निर्णयको बिरोध गर्दै सरकारलाई फिर्ता गर्न दवाव सिर्जना गर्नका लागि संघर्ष समिति समेत गठन गरिएको छ। बैठकले बुटवल उद्योग बाणिज्य संघ रुपन्देहीका अध्यक्ष खिमबहादुर हमालको संयोजकत्वमा १५ सदस्यीय संघष समिति गठन गरेको हो।
संघर्ष समितिको सदस्यहरुमा रुपन्देही व्यापार संघका अध्यक्ष यमलाल लोहनी, रुपन्देही उद्योग संघका कार्यवाहक अध्यक्ष माधव पौडेल, पश्चिम नेपाल बस व्यबसायी प्रालिका अध्यक्ष दधिराम खरेल, नेपाल उद्योग परिसंघका केन्द्रीय सदस्य एजाज आलम, मणिमुकुन्द उधान समितिका अध्यक्ष खेमप्रसाद लुईटेल, नेपाल चेम्बर अफ कमर्सका केन्द्रीय सदस्य टंकप्रसाद पोखरेल, औषधि व्यबसायी महासंघका बाबुराम भट्टराई, होटल तथा रेष्टुरेन्ट व्यबसायी संघ रुपन्देहीका अध्यक्ष समुन्द्र जिसी, नेपाल पत्रकार महासंघ रुपन्देहीका उपाध्यक्ष दिनेश पाण्डे, बुटवल औद्योगिक क्षेत्र उद्योग संघका अध्यक्ष हिरामणी भट्टराई, तिलोत्तमा व्यापार संघका अध्यक्ष जेपी कंडेल, तिलोत्तमा उद्योग बाणिज्य संघका अध्यक्ष गुणानिधी भण्डारी, नेपाल उद्योग व्यापार संगठनका नारायण भण्डारी र कोषबहादुर गुरुङ रहेका छन्।
बैठकले आईतबार बिहान बुटवलमा बिरोध र्याली प्रदर्शन गर्ने तथा दिउँसो मुख्यमन्त्री तथा प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाउने कार्यक्रम तय गरेको छ। त्यस्तै गरी सोमबार बस्ने प्रदेश सभा बैठकलाई प्रभावित पार्नेगरी संसद भवन अंगाडी प्रदर्शन गर्ने र्काक्रम तय गरिएको रुपन्देही व्यापार संघका अध्यक्ष यमलाल लोहोनीले जानकारी दिए।
त्यस्तै सोमबार नै प्रदेश ५ मा पर्ने साविक लुम्बिनी अञ्चलका ६ जिल्ला बन्द गर्न सञ्जालले आह्वान गरेको छ। त्यस्तै संघसंस्थाहरुले आह्वान गरेका बिरोधका कार्यक्रममा साथ सहयोग गर्नका लागि समेत उद्योगी व्यबसायी तथा आम सर्वसाधारणलाई आह्वान गरिएको छ।