बुटवल-नेपाली कांग्रेसका नेता बालकृष्ण खाँडले प्रदेश सभामा पेश गरेको राजधानीबारेको प्रस्ताव संशोधन गर्न आग्रह गरेका छन्।
लुम्बिनी टाईम्सलाई संक्षिप्त प्रतिक्रिया दिदै उनले सरकारको प्रस्ताव अनुचित रहेको बताए।
बालकृष्ण खाँडको भनाइ जस्ताको तस्तै
बुटवल भौतिक पूर्वाधार निर्माणको हिसाबले पनि उपयुक्त ठाउँ हो ।
यातायातको सुविधा र आगमनको हिसाबमा पनि संघिय राजधानी काठमाण्डौ र अन्य प्रदेशका राजधानी जान पनि सजिलै छ । भैरहवाको अन्तराष्ट्रिय विमानस्थल तयार भएपछि विदेश जान र विदेशबाट आउन पनि सहज पूर्वाधार भएको ठाउँ हो ।
सुरक्षाको हिसाबले पनि नेपाली सेनाको पृतना पनि बुटवलमै छ । त्यसैले भौतिक पूर्वाधारको हिसाबले, सडक सञ्जाल, पाँच नम्बर प्रदेशका सबै जिल्लामा पुग्न सहज देखेर बुटवल नै उपयुक्त ठानेर त्यतिबेलाको सरकारले प्रदेश ५ को राजधानी तोकेको हो ।
अहिले शंकर पोखरेलले आफू मुख्यमन्त्री भएको बेलामा विज्ञहरुको सल्लाहलाई पनि पन्छाइदिनुभयो ।
प्रदेश सभाले गठन गरेको समितिको प्रतिवेदनलाई पनि पन्छाएर मुख्यमन्त्रीले आफ्नै जिल्लामा राजधानी सार्ने जुन प्रस्ताव गर्नुभएको छ त्यो विल्कुलै अनुचित छ । जुन अनुचित प्रस्ताव प्रदेश सरकारले ल्याएको छ, त्यसमा सबै राजनीतिक दलहरुको ध्यान जाओस् ।
मुख्यमन्त्री र प्रदेश सरकारसँग पनि मेरो आग्रह छ यो प्रस्तावलाई संसोधन गरेर मात्र निर्णयार्थ अगाडि बढाउनुहोस् ।
यसले जनतामा आन्दोलन तापक्रम बढ्ने छ । यस्तो महामारीको बेलामा जनता आन्दोलित भएभने प्रदेश र संघिय सरकारले सम्हाल्न सक्दैन । यो उचित निर्णय पनि होइन । त्यसैले सरकारसँग यो निर्णय फिर्ता लिनको लागि म आग्रह गर्छु ।