बुटवल-प्रदेश ५ सरकारले शुक्रबारको संसद बैठकमा पेश गरेको राजधानी सार्ने प्रस्तावप्रति विरोध जनाउँदै नेपाली कांग्रेस रुपन्देही आन्दोलनमा उत्रिएको छ।
उक्त प्रस्ताव संसदमा टेबल भएलगत्तै कांग्रेसका कार्यकर्ताहरुले सडकमा उत्रिएर विरोध जनाएको पार्टी सभापति अब्दुल रज्जाकद्वारा जारी गरिएको विज्ञप्तिमा उल्लेख छ।
शेर बहादुर देउवा नेतृत्वको सरकारले विगतमा रुपन्देहीलाई अस्थायी राजधानी तोकेको भन्दै उनले नेकपाका केही नेताको स्वार्थमा रुपन्देहीबाट राजधानी सार्ने प्रयासको विरुद्धमा सडक र सदन तताउने बताएका छन्।
कांग्रेसले राजधानी सार्ने प्रस्तावको विरुद्धमा एकजुट भएर प्रदर्शन गर्न र राजधानी सार्ने प्रयासलाई रोक्न रुपन्देही तथा छिमेकी जिल्लाका सर्वसाधारणहरुलाई अपील गरेको छ।
बहुसंख्यक जनताको केन्द्र, पूर्वाधारका हिसाबले उपयुक्त रुपन्देहीबाट राजधानी सारेर दाङ लैजाने नेकपा सरकारको निर्णयप्रति कठोर आन्दोलन शुरु भएको कांग्रेसले जनाएको छ। साथै कांग्रेसले आन्दोलनबाट हुने क्षतिको सम्पूर्ण जिम्मेवारी सरकारले लिनुपर्ने बताएको छ।