बुटवल-प्रदेश ५ सरकारले प्रदेशको स्थायी राजधानी दाङको देउखुरीमा सार्ने प्रस्ताव गरेलगत्तै बुटवलमा प्रदर्शनकारीले सरकारी गाडीमा तोडफोड गरेका छन्।
प्रदेश सरकारले शुक्रबारको बैठकमा राजधानी र नामाकरण प्रस्ताव पेश गरेपछि नेविसंघले विरोध जनाएको हो। प्रस्ताव पेस हुन साथ नेविसंघले बुटवलमा तीनवटा गाडीमा तोडफोड गरेको छ।
सामाजिक विकास समितिका सभापति दीर्घनारायण पाण्डे सवार लु १ झ ४४५ नं को स्कारपियो र कृषि मन्त्रालय योजना महाशाखाको लु१ झ ४२१ नंको गाडी तोडफोड भएको छ। त्यस्तै लु १ झ ४४९ नं गाडी पनि तोडफोड भएको छ। नेविसंघका केन्द्रीय उपाध्यक्ष मुक्ति पौडेलले राजधानी बुटवलबाट सार्न नदिने गरि नेबिसंघले आन्दोलन सुरु गरेको बताए।
रुपन्देही प्रहरीका अनुसार बुटवलको नेपालगञ्ज रोड, पुष्पलाल पार्क र ट्राफिक चोक क्षेत्रमा बाक्लो संख्यामा प्रहरी परिचालन गरिएको छ। बुटवलका ठाउँठाउँमा प्रदेश राजधानी सार्ने निर्णयको विरोधमा प्रदर्शन भएका छन्।