बुटवल-प्रदेश ५ प्रदेश सभाको बैठकमा सरकारले छलफल विना प्रस्ताव पेश गरेको भन्दै प्रमुख प्रतिपक्षी दल कांग्रेसले आपत्ति जनाएको छ।
सभामा सरकारको तर्फबाट आन्तरिक मामिला तथा कानुनमन्त्री कुलप्रसाद केसीले प्रस्ताव पेश गरेपछि प्रतिपक्षी दल कांग्रेस, जनता समाजवादी पार्टीका सांसदहरु उठेर विरोध जनाएका थिए।
उनीहरु उठेर विरोध जनाउँदै गर्दा सत्तारुढ दलका सांसदहरु भने कोहीपनि उठेनन्। कांग्रेसका सुरेन्द्र हमालबाहेक उपस्थित सबै सांसदहरु उठेर विरोध जनाएका थिए भने जनता समाजवादीका सन्तोष पाण्डे र कल्पना पाण्डेले मात्रै विरोध जनाएका थिए।
सभामुखले समय दिएपछि कांग्रेसका ३ जना सांसदले आफ्नो कुरा राखेका थिए।
सुरुमा सांसद वैजनाथ कलवारले एकल राजधानीको प्रस्ताव आउनु आपत्तिजनक विषय भएको बताए।
'राजधानीको प्रस्ताव समितिले दिएका नाम एकल नाम थिएनन्। आज कुन मापदण्डले एकल नाम आए’-उनले प्रश्न गरे।
अर्की प्रदेश सभा सदस्य रमा अर्यालले कार्य सूचीभन्दा अलग तरिकाले प्रस्ताव पेश भएको बताइन्।
‘सँधै हामीलाई कार्यसूचीको सेडुल म्यासेज आउथ्यो, आज कार्यसूचीको बारेमा जानकारी नदिइ एकाएक यो प्रस्ताव आउनु आपत्तिजनक छ’-उनले भनिन्-‘समितिको प्रतिवेदनमा ३ ठाउँमा प्रस्ताव आएको थियो, आज सरकारको एकल निर्णयमा सर्वसत्तावाद लादेर यो प्रस्ताव ल्याइएको छ, यसमा हाम्रो आपत्ति छ।’
प्रदेश सभा सदस्य फकरुद्धिन खाँले साढे २ वर्ष आज यो प्रस्ताव पेश हुँदै गर्दा साह्रै चित्त दुखेको बताए।
‘हर्षउल्लासका साथ ताली बजाएर, टेबल ठटाएर स्वागत गर्नुपर्नेमा आज जुन किसिमले प्रस्ताव ल्याइएको छ, त्यसले चित्त दुखेको छ’-उनले भने।
सांसदको भनाइ पछि सभामुख पूर्णबहादुर घर्तीले सभामुखले कार्यसूची संसोधन गर्न सक्ने धारणा राखे। उनले प्रस्तावमा छलफल गर्ने समय पनि भएको बताएका थिए।
प्रदेश सभाको आगामी बैठक यही १९ गते बस्दैछ। जसमा राजधानी र नामबारे छलफल शुरु हुनेछ।