बुटवल-प्रदेश ५ को स्थायी राजधानी र नामको टुंगो लगाउने प्रस्ताव प्रदेश सभामा पेश गर्ने तयारी भएको छ। प्रदेश ५ सरकारले प्रदेश सभामा आजै प्रस्ताव लैजाने तयारी गरेको श्रोतले बताएको छ। श्रोतका अनुसार सत्तारुढ दल नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालले दाङको भालुवाङमा राजधानी राख्नका लागि सहमति जनाएपछि प्रदेश सरकारले आजकै बैठकमा यो प्रस्ताव पेश गर्ने तयारी गरेको हो।
आजै बिहान मन्त्रिपरिषद बैठक बसेर यसबारे छलफल भएपनि मन्त्रिपरिषदको निर्णयमा राजधानीको विषयबारे उल्लेख गरिएको छैन। दिउसो १ बजे बोलाइएको बैठक साढे १ बजेसम्म बस्न सकेको छैन। दलहरु छलफलमा जुटेका छन्।
कांग्रेस सचेतक निर्मला क्षेत्रीले आजकै बैठकमा सरकारले राजधानीबारे प्रस्ताव ल्याउने तयारी गरेको जानकारी पाएको बताइन्।
प्रदेश सभाको बैठक केहीबेरमा बस्ने प्रदेश सभाका सूचना अधिकारी दिनेश अधिकारीले बताए। उनका अनुसार आजको कार्यसूची साढे १ बजेसम्म प्रमाणीकरण भएको छैन।