बुटवल–प्रदेश सभाको बिहीबारको बैठकमा बोल्ने सांसदहरुले कोरोना संक्रमणदेखि बाढी पहिरोको समस्यासम्मका कुरामा प्रदेश सरकारको ध्यानाकर्षण गराएका छन्।
उनीहरुले किसानले समयमा बीउ नपाएको, मुख्यमन्त्री ग्रामीण विकास कार्यक्रम प्रभावकारी नभएको, बस्ती जलाउँदा मन्त्रीको गैरजिम्मेवारी अभिव्यक्ति दिएको लगायतका आरोप लगाएका थिए। शुन्य र विशेष समयमा प्रदेश सभा सदस्यहरुले व्यक्त गरेका धारणाहरुको मुख्य अंश ।
अष्टभुजा पाठक
मुख्यमन्त्री ग्रामीण विकास कार्यक्रम भ्रष्ट्राचारको थलो हो। कार्यक्रम प्रत्येक गाउँपालिकालाई पठाउने गाउँपालिकाले जथाभावी जे पनि गर्ने ? हेर्ने कसले। खरका छाना मुक्त गराउनु भन्दा जसको पक्की घर छ उसैले कर्कटपाटा जस्ता इटा पाएर घर राखेको छ। जसको घरमा पहुँच छ, उसैले मात्र पाएको छ।
बैजनाथ कलवार
नवलपरासीका सुभासचन्द्र गिरीको मृत्यु रहस्यमय भएकाले न्यायिक छानविन होस्। कोरोनाको नियन्त्रणमा नेपाल सरकार र प्रदेश सरकार फेल भएको छ।
कोभिड संक्रमणको लागि प्रत्येक जिल्लामा छुट्टै एम्बुलेन्सको व्यवस्था माग गर्दै आएका थियौं। सुनुवाई नहुँदा कोभिडका बिरामी उपचारबाट बञ्चित भएर अकालमा ज्यान गुमाएका छन्। केन्द्र सरकारको अरबौं र प्रदेश सरकारको करोडौं खर्च हुँदा प्रत्येक जिल्लामा एउटा पिसिआर मेसिन हुन नसक्नु दुखद हो।
५० लाखमा एउटा ल्याब तयार हुन्छ। हजार १२ सयमा पिसिआर परिक्षण गर्न सकिन्छ यो पनि प्रदेश सरकारले गर्न सकेन।
दिपेश थारु
कर्णाली नदीले बर्दियातर्फ क्षति गरेको छ। सिचाइँ आयोजनाहरुले अर्कोतिर तटबन्धन सोझ्याउँदा कटान भइरहेको छ। त्यसको छानबिन गर्न जरुरी छ। बर्दिया र बाँकेबासीले महंगोमा बीउबिजन किन्नुपर्ने अवस्था कहिले अन्त्य हुन्छ। मल र बीउमा कमिसनको चलखेल भइरहेको छ।
रमा अर्याल
समयमा किसानले मल पाइरहेका छैनन्। गोडमेल गर्ने बेलामा मात्र मल आउने गरेको छ। प्रदेशमा कति मल र बीउ चाहिन्छ भनेर सरकारले खोजी गरेर कार्यक्रम बनाउन सकेको छैन।
८ सयको मललाई १५ सय तिर्नुपरेको अवस्था छ। गाडी मर्मतमा घोटला भएको धेरै सञ्चारमाध्यममा आएका छन्। हो भने गलत क्रियाकलाप गर्नेलाई कारबाही गर्नुपर्यो।
इन्द्रप्रसाद खरेल
बाँके राप्ती सोनारी गाउँपालिकामा घर जलाइयो। नयाँ घर जलाएको भन्ने कुरा भयो। नयाँ नै भएपनि जनताले घर बनाएपनि घर जलाएको हो भनेर मन्त्री जस्तो गरिमामय व्यक्ति (लिला गिरी) ले भन्नु हुन्छ कि हुँदैन ? त्यो उपयुक्त हो कि होइन। मन्त्रीज्यूले गम्भीर आत्मालोचना गर्नुपर्छ।
सन्तोषकुमार पाण्डे
नीजि विद्यालयले अनलाइन कक्षा चलाएका छन्। पढ्ने र नपढ्ने दुवैसँग शुल्क असुलिएको छ। सरकारी विद्यालयमा पढ्नेलाई पनि पठनपाठनको व्यवस्था मिलाउँ।
लकडाउन भनेको विपन्न मान्छेलाई पनि लागेको हो। ९ वर्ष पुग्दा पनि प्रहरीको रासन भत्ता त्यही कायम छ। त्यसमा थोरै सोंच्नुपर्छ। प्रदेशका कानून मन्त्रीले केन्द्रसरकार समक्ष पुराईदिनुपर्छ।
तुलाराम घर्तीमगर
पाल्पाको रम्भा गाउँपालिकामा पहिरो जाँदा ६ जना बेपत्ता भए। घरगोठहरु क्षति भएको छ। मृतक तथा बेपत्ता परिवारलाई सरकारले आवश्यक राहतको व्यवस्था गरोस्। सिद्धबाबा सडकको वैकल्पिक बाटो बनाउँ।
सिद्धबाबामा अझै पाँच सात वर्ष समस्या झेल्नुपर्छ। सुरुङमार्ग मेलम्चीको पानी जस्तो हुने सम्भावना छ। त्यसैले बेलबास नुवाकोट दोभान सडकलाई वैकल्पिक सडक बनाउँ।