काठमाडौं-प्रमुख प्रतिपक्षी नेपाली काँग्रेसले गुल्मीका पार्टी सभापति भुवन श्रेष्ठमाथि भएको दुर्व्यवहारको घटना छानबिन गरेर दोषीमाथि कारबाहीको माग गरेको छ । काँग्रेसका प्रवक्ता विश्वप्रकाश शर्मालेले सोमबार प्रेस विज्ञप्ति जारी गरी गुल्मी घटनाको यथार्थ छानबिन गरेर घटनाका दोषीलाई कारबाही गर्न माग गरेका हुन् ।
शर्माका अनुसार जिल्ला प्रशासन कार्यालयमा सोमबार ज्ञापनपत्र बुझाउन गएको काँग्रेस गुल्मीको टोलीमाथि प्रहरीले धक्कामुक्का गर्दा सभापति श्रेष्ठसहित केही नेताहरु घाइते भएका थिए । आगामी दिनमा घटना दोहोर्याएर प्रतिपक्षलाई जिस्काउने कार्य नगर्न पनि गृह प्रशासनलाई काँग्रेसले चेतावनी दिएको छ ।
शान्तिपूर्ण प्रदर्शन गर्न पाउने, विमति, विरोध र माग प्रस्तुत गर्न पाउने संविधानप्रदत्त अधिकार प्रयोग गर्दा सत्ता पक्षले प्रस्तुत गर्दै आएको व्यवहारलाई काँग्रेसले गम्भीरतापूर्वक विज्ञप्तिमा उल्लेख छ ।
शर्माले भने, 'स्थानीय प्रशासनको दुर्व्यवहारको घटनाप्रति प्रधानमन्त्री समेतको ध्यानाकर्षण गराउँदै नेपाली काँग्रेस यस बारेमा तत्काल गृहमन्त्रीबाट सार्वजनिक स्पष्टिकरण माग गर्दछ ।'