गुल्मी-गुल्मीमा नेपाली कांग्रेसका कार्यकर्ता र प्रहरीबीच झडप भएको छ। सोमबार आफ्ना कार्यकर्ताहरुलाई कुटपिट गर्नेहरुलाई प्रहरीले पक्राउ नगरेको भन्दै कांग्रेस कार्यकर्ताले जिल्ला प्रशासन कार्यालय अगाडि विरोध प्रर्दशन गरेका थिए।
एक्कासी प्रशासन कार्यालय भित्र कांग्रेस नेता कार्यकर्ता पस्न खोजेपछि प्रहरीले रोक्ने क्रममा झडप भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब उपरीक्षक केदारराज पन्तले जानकारी दिए।
झडपमा कांग्रेस जिल्ला सभापति भुवन प्रसाद श्रेष्ठ र नेता पूर्णबहादुुर केसी घाइते भएको कांग्रेस जिल्ला सचिव खिलध्वज पन्थीले जानकारी दिए। त्यस्तै प्रहरी निरीक्षक राजकुमार रावल सहित चार जना घाइते भएको पन्तले जानकारी दिए।
नेपाली कांग्रेसका सभापति भुवन प्रसाद श्रेष्ठले प्रहरी र प्रशासनले सत्ताको आडमा घटनामा संलग्नहरुलाई उन्मुक्ति दिइरहेको आरोप लगाए। उनले सोमबार साँझसम्म कांग्रेस कार्यकर्ता कुटपिट गर्नेलाई पक्राउ नगरे चरणवद्ध आन्दोलन गरिने बताए।
रेसुंगा नगरपालिका १२ को रानीपोखरी निमाविको विषयलाई लिएर कांग्रेसले प्रदर्शन गरेको थियो। केही दिनअघि रानीपोखरी निमाविको भवन निर्माणका विषयमा नेकपा र कांग्रेस कार्यकर्ता बीच विवाद चुलिएको थियो।
विवादकै क्रममा नेकपाका कार्यकर्ताले आफ्ना कार्यकर्ता कुटपिट गरेर घाइते बनाएको कांग्रेसको दावी छ। नेकपाले आफ्ना पनि कार्यकर्तामाथि कुटपिट भएको बताउँदै आएको छ।