भैरहवा–जनता समाजवादी पार्टी नेपालले संविधान संसोधन गर्नुपर्ने भन्दै रुपन्देहीमा प्रर्दशन गरेको छ।
सविधान दिवसको अवसरमा भैरहवाको मिलन चोकमा आयोजित विरोध तथा कोण सभामा बोल्दै पार्टीका नेताहरुले संविधानमा आफ्ना पहिचानसहितको हक अधिकार नपाएसम्म हरेक वर्ष संविधान दिवसमा असोज ३ गते विरोधका कार्यक्रम गर्ने बताएका छन्।
पार्टीको केन्द्रिय नेता तथा प्रदेश सदस्य कल्पना पाण्डेले ५ वर्ष अघि आजैको दिन संसारको उत्कृष्ट भन्दै ल्याएको संविधान त्रृटि पूर्ण रहेको बताइन्। उनले संविधानले सबै वर्गलाई छुन नसकेको बताउँदै पहिचान र हकका लागि आन्दोलन जारी राख्ने बताइन्।
‘आजको दिन हामीले विगत ५ वर्ष देखि विरोध गरेका छौ र हक अधिकार नपाए सम्म विरोधका कार्यक्रम निरन्तर हुनेछ’–पाण्डेले बताइन्।
कोण सभामा बोल्दै केन्द्रिय सदस्य निलम यादव, जिल्ला अध्यक्ष अजय बर्मा, वरिष्ठ उपाध्यक्ष महेन्द्र गुप्ता (प्रशान्त) लगायतले अरु नेपालीले आजको दिन दिपावली मनाएपनि आफुहरुले ब्ल्याक आउट गरी शोक मनाउनुपर्ने अवस्था रहेको बताए।
शुक्रबार बसेको जनता समाजवादी पार्टी नेपालको बैठकले सरकारले घोषणा गरेको संविधान दिवसमा भाग नलिने निर्णय गरेको थियो। संविधानमा संघीयता समावेशी लोकतन्त्र, राष्ट्रिय पहिचान, समानुपातिक समावेशीकरण लगायतका प्रावधानहरु पनि अधुरो र अपूर्ण हुनुका साथै संविधानमा विभेदकारी प्रावधान राखिएको हुँदा सरकारले घोषणा गरेको संविधान दिवसमा भाग नलिने निर्णय गरेको पार्टीले जनाएको छ ।
कालोपट्टी र कालो झण्डा देखाउदै भएको विरोध कार्यक्रममा पहिचान र हकका लागि शहिद भएका परिवार प्रति श्रदाञ्जली प्रकट गर्दै मौन धारण गरिएको थियो ।