बुटवल-परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले नेपाललाई लोडसेडिङमुक्त बनाउन कुलमान घिसिङले कुशल व्यवस्थापन गरेका कारण सम्भव भएको बताएका छन्। बुटवलमा प्रेस संगठन नेपालले गरेको पत्रकार सम्मेलनमा बोल्दै ज्ञवालीले प्रधानमन्त्री केपी ओलीको दुरदर्शिता, विभिन्न उर्जामन्त्रीहरुको प्रयास र योजनामा घिसिङको व्यवस्थापनका कारण नेपाल लोडसेडिङमुक्त भएको बताए।
तर उनले कुलमान घिसिङको एक्लो प्रयासले लोडसेडिङ नहटेको बताए। उनले कुलमान घिसिङलाई पुन: विद्युत प्राधिकरणमा नियुक्ति गर्ने विषयमा छलफल हुन बाँकी रहेको उल्लेख गरे। 'उहाँको कामप्रति सरकार सकारात्मक नै छ, उनले भने-उहाँलाई पुन: त्यही ठाउँमा नियुक्ति नवीकरण गर्ने भन्ने कुनै प्रावधान र व्यवस्था नभएकाले उहाँलाई कुन जिम्मेवारी दिने भन्नेमा हामीले छलफल गर्छौं।'
परराष्ट्रमन्त्री ज्ञवालीले भारतले अतिक्रमण गरेको कालापानी, लिम्पियाधुरालगायतका क्षेत्रको नेपाली भूमि फिर्ता गर्न भारतसँग वार्ता गरिने बताए। उनले नयाँ नक्शाअनुसारको नेपाली भूमि फिर्ता गर्नका लागि सरकारले भारतसँग अनौपचारिक छलफल अघि बढाएको र छिटै नै वार्ता हुने बताए। उनले भारतले त्यहाँबाट आफ्नो सेना फिर्ता लगेर नेपाललाई आफ्नो भूभाग प्रयोग गर्न दिनुपर्ने बताए।
कोरोना महामारीकै बीचमा गुल्मीमा पीसीआर परीक्षण प्रयोगशाला स्थापनाका लागि पुगेर फर्किएका मन्त्री ज्ञवालीले सरकारले भनेअनुसारका मापदण्डहरु पालना नगरी लापरबाही गर्दा कोरोना संक्रमणको जोखिम थप बढ्नसक्नेतर्फ सचेत गराए।
उनले सरकारले प्रक्षेपण गरेअनुसार संक्रमणको दर नदेखिएकोले थप सतर्कता अपनाउनु जरुरी रहेको बताए। 'सरकारले प्रक्षेपण गरेअनुसारले संक्रमण दर घट्न थालेको छैन, एउटै ग्राफमा बढिरहेको छ, उनले भने-यसैले सावधानी र सतर्कता अपनाउनु जरुरी छ।'
उनले महामारीका कारण संकटमा परेका उद्योग व्यवसाय क्षेत्रलाई राहत दिन सरकारले प्याकेजको रुपमा कार्यक्रम ल्याएको बताए।