बुटवल– राष्ट्रिय सभामा नेकपाका सचेतक खिमलाल भट्टराईले बुटवलको सडक विस्तारलाई कसैले पनि रोक्न नसक्ने बताएका छन् । बुटवलमा मंगलबार बेलुका पत्रकारहरुसँग भएको भेटघाटमा बोल्दै नेता भट्टराईले बुटवलको राजमार्ग चौराहादेखि गोलपार्कसम्मको सडक विस्तारमा भइरहेको अवरोध र चलखेललाई चिर्दै सडक विस्तार हुने बताए ।
‘यो सडकमा अब कुनै पनि अवरोध स्वीकार्य हुँदैन, सडक विस्तार हुन्छ, उनले भने–सडकको क्षेत्रमा नेकपाका नेताहरुका घर छन् भनेपनि अवरोध हुनेछैन, यो सडक विस्तार गर्नुको विकल्प छैन ।’
उनले बुटवल क्षेत्रका सडक विस्तारमा साथ दिन सबैलाई आग्रह गरे । ‘अदालतले पनि विकास निर्माणको विपक्षमा निर्णय गर्दैन भन्नेमा हामी विस्वस्त छौं, उनले भने–अन्य क्षेत्रमा विस्तार हुनुपर्छ भन्ने तर आफ्नै क्षेत्रमा आउँदा अवरोध गर्ने गर्नुहुँदैन ।’
उनले मन्त्रिपरिषद र प्रधानमन्त्रीको सचिवालयमा हेरफेर हुने बताए । तर उनले प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलले राजीनामा दिएर प्रधानमन्त्रीको सल्लाहकार बन्ने भन्ने चर्चाको भने खण्डन गरे । ‘मन्त्रिपरिषद र सचिवालयमा हेरफेर हुन्छ, यो अनौठो कुरा होइन, उनले भने–तर मुख्यमन्त्रीबाट राजीनामा दिएर सल्लाहकार बन्ने भन्ने कुरा हल्लामात्रै हो ।’