बुटवल–नेपाली कांग्रेसको १४ औं महाधिवेशन फागुन ७ गतेदेख १० गतेसम्म हुने तय भएको छ। तर कोरोना महामारी र क्रियाशील सदस्यको टुंगो नलाग्दा यही मितिमा महाधिवेशन हुने सम्भावना टरेको सबैजसो नेता कार्यकर्ताले बताउने गरेका छन्। अब बस्ने केन्द्रीय समितिको बैठकले महाधिवेशनको मिति सार्न सक्ने सम्भावना छ।
महाधिवेशन आउन केही महिना बाँकी रहेपनि कांग्रेसमा केन्द्रीय सभापति र अरु केही पदमा उमेदवार को होला भन्ने चर्चा शुरु भइसकेको छ। आधादर्जन बढी नेताको सभापतिको उमेदवारको रुपमा चर्चा छ।
कांग्रेसको महाधिवेशन हुनु अघि नै प्रदेश अधिवेशन हुने छ। तर प्रदेशको नेतृत्वमा को आउला भन्ने चर्चा पनि खासै चलेको छैन। अधिवेशन अनिश्चित भएपनि प्रदेश ५ मा नेपाली कांग्रेसको प्रदेश सभापतिको रुपमा आउन सक्ने केही सम्भावित अनुहारहरुकोे नेताकार्यकतामाझ कुराकानी हुन थालेको छ।
आखिर कस्तो व्यक्ति कांग्रेसको प्रदेश सभापति हुन मैदानमा आउलान् त ? कांग्रेस निकट डेमोक्रेटिक लयर्स एशोसिएसनका पूर्व केन्द्रिय सदस्य बाबुराम पाण्डेले हाल पार्टीको केन्द्रीय सदस्य भएका प्रभावशाली नेता नै भावी प्रदेश सभापति हुने बताउँछन्।
‘अहिले सबैको ध्यान केन्द्रतिर छ, कतिपय केन्द्रीय सदस्यहरुले पदाधिकारी बन्न जोड गरेका छन्’–उनले भने–‘त्यहाँ अनुकुल नभएमा ती नेताको अर्को रोजाइ प्रदेश सभापति हुन सक्छ, फेरि केन्द्रीय सदस्य मात्र भएर बस्नुभन्दा कार्यकारी पद भएकाले प्रदेशको सभापति बन्न खोज्छन्।’
केन्द्रीय तहमा चिनिएका नेतालाई मात्र प्रदेशको पदाधिकारीमा चुनाव लड्न सहज हुने पाण्डेको विश्लेषण छ। ‘आम कार्याकर्ताले चिन्ने भनेको केन्द्रीय सदस्य भइसकेका नेतालाई मात्र हो, उमेदवार भइसकेपछि प्रदेशभरका १२ जिल्लामा परिचित हुनुपर्छ’–उनले भने–‘त्यसैले कार्यकर्ताले बढी चिनेका र त्यसमा पनि केन्द्रीय पदाधिकारी हुन योग्य नेता नै प्रदेश ५ को सभापतिको उमेदवार बन्न सक्छन्।’
शीर्ष नेताहरुले पनि आफ्नो समूहबाट त्यस्ता नेतालाई नै उमेदवार बनाउन सक्ने पाण्डेको भनाइ छ। प्रदेश ५ बाट हाल नेपाली कांग्रेसमा एक दर्जनको हाराहारीमा केन्द्रीय सदस्य छन्। त्यसमध्ये केही नेता केन्द्रीय पदाधिकारीमा लड्ने चर्चा पनि छ।
प्रदेश ५ बाट केन्द्रीय सदस्य भएका मध्ये सबैभन्दा अग्रपंक्तिमा बालकृष्ण खाँड छन्। उनी पार्टीभित्रको मर्यादाक्रममा पनि प्रदेशका अरु सदस्य भन्दा माथि छन्। आगामी महाधिवेशनमा उनको चर्चा केन्द्रीय उपसभापति र महामन्त्रीमा छ।
तर पदाधिकारीमा चुनाव लड्ने की नलड्ने भनेर बालकृष्ण खाँडले मुख नखोलिसकेको खाँड निकट नेता चिरन्जीवी जोशीले बताए।
‘उहाँ आफैले अहिलेसम्म केही भन्नुभएको छैन, तर कार्यकर्ताहरुले उहाँलाई पदाधिकारीमै आउन जोडबल गरिरहेका छन्’–उनले भने–‘यतिका वर्ष संगठन बनाउन लाग्नुभयो अब पदाधिकारीमा आउनुहोस भन्छन्।’
महाधिवेशन नजिकिँदै गर्दा केन्द्रमा पदाधीकारीको उमेदवार बन्न अनुकुल नभएमा खाँडले प्रदेश हाक्ने इच्छा पनि गर्न सक्छन्। तर त्यो उनको प्यानल र व्यक्तिगत इच्छामा भर पर्छ। कांग्रेस नेता चिरञ्जीवि जोशी भन्छन्–‘उहाँ नै आउनुहुन्छ भनेर अहिले नै मैले केही भन्न सक्दिन, तर पार्टीको प्रदेश सम्हाल्ने नेता चाँही प्रभावशाली व्यक्ति नै आउन सक्छन्’–नेता खाँड सभापति शेरवहादुर देउवा पक्षका हुन्।
प्रदेश ५ कै अर्का लोकप्रिय केन्द्रीय सदस्य हुन गुल्मीका चन्द्र भण्डारी। उनी प्रष्ट विचार राख्न सक्ने र युवामाझ परिचित नेता हुन्। कांग्रेसको आगामी महाधिवेशनमा भण्डारीलाई पनि पदाधिकारीको आकांक्षीको रुपमा हेरिएको छ।
केही अन्तरवार्तामा उमेदवार बन्ने बारे आफूले पनि मुख खोलेका छन्। उनी हाल देउवा विरोधी समुहका हुन्। देउवा इतर समूहबाट केन्द्रीय पदाधिकारीका आकांक्षी धेरै भएकाले उनलाई त्यहाँ समावेश हुन गाह्रो छ। त्यस्तो भएमा भण्डारी पनि प्रदेशको सभापतिको उमेद्वार बन्न सक्छन्।
तर नेता भण्डारीले लुम्बिनी टाइम्ससँगको कुराकानीमा अहिले यसबारेमा केही नसोंचेको बताए। ‘पार्टीको अधिवेशन कहिले हुने हो अनिश्चित छ, मुलुकको यो अवस्था छ, त्यसैले मैले यसबारेमा केही सोंचेको छै’–उनले भने–‘विधानअनुसार अहिले कतिपय केन्द्रका अधिकार प्रदेशमा हस्तान्तरण भएको छ। त्यसैले प्रदेशमा क्षमतावान नेतृत्व हुनुपर्छ।’
बालकृष्ण खाँड र चन्द्र भण्डारी बाहेक प्रदेश ५ बाट देवेन्द्रराज कंडेल, दीपक गिरी, मानबहादुर विश्वकर्मा, पुष्पा भुसाल, हरि नेपाल, किशोरसिंह राठोर, अतहर कमाल मुशलमान, शिला शर्मा, अभिशेक प्रताप शाहलगायत केन्द्रीय सदस्य रहेका छन्।
कंडेल र गिरी १३ औं महाधिवेशनमा प्रदेशको कोटाबाट केन्द्रीय सदस्यमा निर्वाचित भएका थिए। अघिल्लो पटक प्रदेशकै मात्र मत पाएर केन्द्रीय सदस्य बनेकाले यी दुइको पनि प्रदेश सभापतिको उमेदवार बन्ने सम्भावना देखिन्छ। किशोरसिंह राठौर पूर्व विद्यार्थी नेता हुन्।
यसबाहेक अरु केन्द्रीय सदस्य कोही आरक्षण कोटाबाट र कोही मनोनित भएकाले आम कार्यकर्ताको मन जित्न गाह्रो छ। उमेदवारको लागि उनीहरुलाई प्रदेशको नेतृत्व भन्दा सहज केन्द्रीय सदस्य नै हुन्छ।
कांग्रेसकै अर्को शुभेच्छुुक संस्था प्रजातन्त्रवादी प्राध्यापक संघका केन्द्रीय सचिव विष्णु पोखरेलले केन्द्रीय सदस्य बाहेकबाट पनि कांग्रेसको प्रदेश सभापति हुन सक्ने धारणा राख्छन्।
वर्तमान वा पूर्व जिल्ला सभापतिहरु पनि प्रदेश सभापतिको दाबेदार बन्न सक्ने पोखरेलको तर्क छ। ‘अहिले भइरहेका जिल्ला सभापतिहरु मध्ये जो सामूहिक नेतृत्वमा जान सक्ने क्षमता भएको नेता छ त्यो अबको प्रदेश सभापति बन्न सक्छ’–उनले भने–‘त्यसबाहेक पूर्व जिल्ला सभापति पनि आउन सक्ने भए, जिल्लाको नेतृत्वमा परिक्षण भइसकेको मान्छे नै प्रदेशको नेतृत्व लिन आउन सक्छन्।’
जिल्ला सभापतिहरु बाहेक पनि जनप्रतिनिधिको रुपमा आफ्नो प्रभाव देखाएकाहरु पनि कांग्रेसको प्रदेशको नेतृत्वमा आउन सक्ने पोखरेलको विश्लेषण छ।
उनका अनुसार संघीय तथा प्रदेश सांसदहरु पनि कांग्रेसको प्रदेश सभापति बन्न सक्छन्। ‘सबै सांसदभन्दा पनि संसदमा आफ्नो प्रभाव देखाएकाहरु पनि नेतृत्वमा आउन सक्छन्–पोखरेलले भने–तर उनीहरु प्रदेशगत रुपमा पनि परिचित हुनुपर्छ।’
पोखरेलको भनाइलाई आधार मान्ने हो भने प्रदेश ५ मा केन्द्रीय सदस्य नभएर पनि राष्ट्रिय रुपमा चर्चा बटुलेका केही कांग्रेसका नेता छन्।
रुपन्देही ५ का प्रतिनिधि सभा सदस्य भरतकुमार शाह अहिले संघीय संसदको सार्वजनिक लेखा समितिको सभापति भएपछि बढी चर्चामा छन्। उनी अहिलेसँगै ३ पटक सांसद भइसकेका छन्। गत महाधिवेशनमा उनी प्रदेशको कोटाबाट केन्द्रीय सदस्य बनेका थिए तर पराजित भए।
बर्दियाका कांग्रेस जिल्ला सभापति सञ्जय गौतम नेकपाका उपाध्यक्ष वामदेव गौतमलाई पराजित गरेर चर्चामा आएका छन्। उनी मन्त्री पनि भइसकेका छन्। उनलाई कांग्रेसमा सशक्त रुपमा हेरिएको छ।
त्यस्तै कांग्रेस विभाजनको बेला र एकतासहित ३ कार्याकाल रुपन्देही जिल्ला सभापति भएका अब्दुल रज्जाक पनि सांसद र राज्यमन्त्री भइसकेका छन्।
उनलाई पनि प्रदेश सभापतिको दाबेदार मान्न सकिन्छ। यी बाहेक रुपन्देहीका पूर्व जिल्ला सभापति रामचन्द्र ढकाल, पाल्पा जिल्ला सभापति वीरबहादुर राना, हाल प्रदेश संसदीय दलका नेता रहेका विरेन्द्रप्रसाद कनौडिया, हाल प्रदेश सभामा लेखा समिति सभापति डिल्ली चौधरी पनि आगामी अधिवेशनमा प्रदेश समितिको पदाधिकारी तहमा पुग्न सक्ने सम्भावना छ।
आम जनतामा लोकप्रियता र पार्टीको गुटमा पर्नुबाहेक भौगोलिकताले पनि आगामी नेपाली कांग्रेसको प्रदेश नेतृत्वलाई प्रभाव पार्न सक्छ।
मुलुक संघीय संरचनामा गएर प्रदेश संरचना बनेपनि केही हदसम्म आञ्चलिक मनोविज्ञान बाँकी छ। आञ्चलिक मनोविज्ञानले पनि कांग्रेसको प्रदेश नेतृत्वमा को उमेदवार बन्छ र को विजयी बन्छ भनेर अर्थ राख्ने कतिपयको बुझाइ छ।