काठमाडौं-पछिल्लो समय मन्त्री बनेको ६ महिनाको अवधि पूरा भएपछि अर्थमन्त्री युवराज खतिवडाले शुक्रबार पदबाट राजीनामा दिएका छन्। खतिवडाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई राजीनामा दिएको खतिवडाको सचिवालयले जानकारी दिएको छ।
यसअघि उनले अर्थ मन्त्रालयमा विदाइ कार्यक्रम आयोजना गरेका थिए। सञ्चार तथा सूचना प्रविधि मन्त्रालय पुगेर पनि उनले बिदा मागेका थिए।
यसअघि शुक्रबारको मन्त्रिपरिषद्मा पनि उनले मन्त्रीहरु र प्रधानमन्त्रीलाई आफ्नो कार्यावधिका लागि धन्यवाद दिएका थिए।
मन्त्रालयको कार्यभार प्रम ओलीलाई
राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा डा युवराज खतिवडाले सम्हाल्दै आउनुभएको अर्थ र सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको कार्यभार प्रधानमन्त्री ओलीले सम्हाल्ने गरी तोकेकी छन्।
मौजुदा मन्त्रिपरिषद्का सदस्य डा खतिवडाले नेपालको संविधानको धारा ७७ को उपधारा २ को खण्ड क बमोजिम आजै आफ्नो पदबाट राजीनामा दिएको राष्ट्रपतिको कार्यालयले आज विज्ञप्ति जारी गरी जनाएको छ ।