भैरहवा-रुपन्देहीमा जारी निषेधाज्ञाको मोडालिटी परिवर्तन गर्दै केही खुकुलो बनाइने भएको छ। रुपन्देहीका उद्योगी व्यवसायीका संस्थाहरुले निधेषाज्ञाको अवधि थप नगर्न दबाब दिइरहेको समयमा शुक्रबार बसेको कोरोना भाइरस रोकथाम तथा नियन्त्रण गर्न गठित जिल्ला संकट व्यवस्थापन केन्द्र (डिसीसीएमसी) रुपन्देहीको बैठकले निषेधाज्ञा केही खुकुलो बनाउने निर्णय गरेको हो।
उद्योगी व्यवसायीले माग गरेअनुसार निषेधाज्ञाको निर्णय पुनरावलोकन गर्ने निर्णय बैठकले भएको प्रमुख जिल्ला अधिकारी माहादेव पन्थले जानकारी दिए। भोलि शनिबार रातीसम्म निषेधाज्ञाकै अवधि कायम रहने भएकाले भोलि शनिबार मात्रै कुन मोडालिटीमा खुला गर्ने भन्ने निर्णय हुने उनले बताए।
व्यवसायीहरुले सुरक्षाका सबै मापदण्ड अपनाएर व्यवसाय सञ्चालन गर्ने प्रतिबद्धता जनाएको र त्यसका लागि जिल्ला प्रशासन कार्यालयको नेतृत्वमा स्थानीय तहस्तरमै अनुगमन समिति बनाउने निर्णय पनि भएको छ। जसले सुरक्षाका मापदण्ड अपनाए/नअपनाएको अनुगमन गरेर कारबाही गर्नसक्नेछ।
शुक्रबार जिल्ला प्रशासन कार्यालय रुपन्देहीमा डिसिसिएमसी रुपन्देहीका संयोजक तथा रुपन्देहीका प्रमुख जिल्ला अधिकारी माहादेव पन्थको अध्यक्षतामा बसेको बैठकले गरेका निर्णयहरुबारे शनिबार जिल्ला सुरक्षा समितिको बैठक बसेर टुंगो लगाउने निर्णय भएको छ।
आइतबारदेखि रुपन्देहीमा निषेधाज्ञाको कस्तो मोडालिटी अपनाउने भन्ने आदेश शनिबार जारी हुने जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत तथा सूचना अधिकारी जनक थापाले जानकारी दिए।
बैठकमा उद्योगी व्यवसायीहरुले बैंक तथा वित्तिय संस्था खुला गर्न, व्यापार व्यवसायका लागि समय निर्धारण गरेर खुला गर्नका लागि सुझाव दिएको बुटवल उद्योग वाणिज्य संघका अध्यक्ष खिमबहादुर हमालले जानकारी दिए।
यसअघि रुपन्देहीका व्यवसायिक संस्थाहरुले निषेधाज्ञाको अवज्ञा गर्ने चेतावनी दिएका थिए। शुरुमा उद्योग व्यापार संगठन रुपन्देहीले विज्ञप्ति निकालेर अब हुने निषेधाज्ञाको अवज्ञा हुने समेत चेतावनी दिएको थियो ।
भदौ १४ गते जिल्ला प्रशासन कार्यालयले अन्तिमपटक भन्दै निषेधाज्ञा जारी गर्न सहमति जनाएकोले संगठनले अबदेखि निषेधाज्ञा भए उल्लंघन गर्ने समेत चेतावनी दिएको थियो ।
त्यस्तै बिहीबार रुपन्देहीका उद्योगी व्यवसायीहरुको साझा सस्थाले संयुक्त रुपमा सुरक्षित रुपमा उद्योग व्यवसाय सञ्चालन गर्ने वातावरण बनाइदिन जिल्ला प्रशासन कार्यालय रुपन्देहीलाई अनुरोध गरेका थिए ।
रुपन्देहीका बुटवल उद्योग वाणिज्य संघ, रुपन्देही उद्योग संघ, सिद्धार्थ उद्योग वाणिज्य संघ, तिलोत्तमा उद्योग वाणिज्य संघ, सैनामैना उद्योग वाणिज्य संघ र देवदह उद्योग वाणिज्य संघले विज्ञप्ति निकालेर सावधानीपूर्वक व्यापार व्यवसाय सञ्चालन गर्न पाउनुपर्ने माग गरेका थिए ।
लकडाउनको विकल्प खोज्न आग्रह गर्दै व्यवसायीहरुले सावधानी र सतर्कता अपनाउदै व्यापार व्यवसाय सञ्चालनको वातावरण बनाउन माग गरेको थिए । डब्लुएचओको भनाइअनुसार कोरोनाको जोखिम लामो समयसम्म रहनसक्ने हुँदा विकल्प खोजी जनजीवनलाई सहज बनाउन लकडाउनको अन्त्य गर्न माग उनीहरुले गरेका थिए ।
यता स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिहीबार कोभिड–१९ को सङ्क्रमणलाई रोक्नका लागि ५०० भन्दा बढी सङ्क्रमित भएका जिल्लामा निषेधाज्ञा र २०० भन्दा बढी सङ्क्रमण भएका जिल्लामा बन्दाबन्दी गर्न सबै जिल्ला प्रशासन कार्यालयलाई निर्देशन दिएको छ । रुपन्देहीमा आज शुक्रबार ४ बजे सम्म ६ सय ८३ सक्रिय संक्रमित छन्।