बुटवल-प्रदेश ५ सरकारले प्रदेश लोक सेवा आयोगलाई कर्मचारीको स्थायी पदपूर्ति गर्न बाटो खोल्दै दरबन्दी स्वीकृत गरेको छ। प्रदेश ५ सरकारले गत साउनमा प्रदेश लोकसेवा आयोगको अध्यक्षमा अर्घाखाँचीका डिलाराम भट्टराइलाई नियुक्त गरेको थियो।
अध्यक्ष नियुक्त भएको एकवर्षपछि सरकारले लोकसेवा आयोगलाई कर्मचारीको स्थायी पदपूर्ति गर्ने बाटो खोलेको हो। मन्त्रिपरिषदको बिहीबार बसेको बैठकले इञ्जिनियरिङतर्फका ५३ र स्वास्थ्य सेवातर्फका ७२ जना गरी १२५ जना कर्मचारी माग गर्न स्वीकृति दिएको प्रदेश ५ सरकारका प्रवक्ता बैजनाथ चौधरीले जानकारी दिए।
जसअनुसार इञ्जिनियरिङतर्फ हाइवे सिभिल १८, जनरल सिभिल ५, सिञ्चाई ८, सेनेटरी १ विल्डिङ आर्किटेक्चर १३, मेकानिकल ५, इञ्जिनियर सिभिल २, हाइड्रो जिओलोजिस्ट १ जना गरी ५३ जनाको दरबन्दी स्वीकृत भएको छ।
मन्त्रिपरिषद बैठकले स्वास्थ्य सेवातर्फ मेडिकल अधिकृत आठौं ४९, नर्सिङ अधिकृत सातौं ११, फिजिओथेरापिस्ट सातौं ५ र मेडिकल ल्याब टेक्नोलोजिष्ट ७ जना गरी ७२ जनाको दरबन्दी स्वीकृत गरेको छ।
यस्तै प्रदेश ५ औद्योगिक व्यवसाय ऐन २०७५ मा संशोधन र एकीकरण सम्बन्धी कानुनी व्यवस्था गर्न बन्ने विधेयकका सम्बन्धमा तयार गरिएको अवधारणा पत्रमा सैद्धान्तिक स्वीकृति प्रदान गर्ने निर्णय पनि बैठकले गरेको छ।
यस्तै भूमिगत जल सिञ्चाईं आयोजना कार्यान्वयन कार्यविधि, २०७७, विज्ञान प्रविधि तथा बहु प्राविधिक प्रतिष्ठानको स्थापना तथा सञ्चालनका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक र प्रस्तावित नेत्रलाल अभागी रंगशाला निर्माणको योजना प्रदेश पूर्वाधार विकास प्राधिकरण मार्फत कार्यान्वयन गर्न स्वीकृति प्रदान गर्ने निर्णय पनि बैठकले गरेको प्रवक्ता चौधरीले बताए।