बुटवल–संघीय सरकारले सहसचिवहरु सरुवा गर्ने निर्णयसँगै प्रदेश ५ का विभिन्न मन्त्रालयका सचिवहरु पनि फेरबदल हुने भएका छन्।
प्रदेश ५ का मन्त्रालयका सचिव राजपत्रांकित प्रथम तह अर्थात नेपाल सरकारको सह सचिव स्तरका कर्मचारी हुन्। सामान्य प्रशासन मन्त्रालयले निकालेको सूची अनुसार मुख्यमन्त्री कार्यालयका सचिव भरतमणि सुवेदी लगायत ५ जना सचिवको सरुवा भएको छ।
सरुवा भएकाहरु प्रदेशका मन्त्रालयबाट संघको मन्त्रालय वा त्यस अन्तर्गतका निकायमा जाने छन्। नयाँ आउने प्रदेशका सचिवहरु संघीय मन्त्रालय अन्तर्गतकै सह–सचिवहरु हुन्।
सरुवाको सूचीअनुसार मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालयका सचिव भरतमणि सुवेदी संस्कृति, पर्यटन तथा नागरिक उड्यन मन्त्रालयमा जानेछन्।
त्यसैगरी सामाजिक विकास मन्त्रालयका सचिव गोपीकृष्ण खनाललाई संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा सरुवा गरिएको छ। उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयकी सचिव राधा वाग्ले संघको वन तथा वातावरण मन्त्रायमा हाजिर हुनेछिन्।
भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका सचिव तेज बहादुर सुवेदीको संघीय सरकारको कृषि तथा पशुपन्छी विकास मन्त्रालयमा सरुवा भएको छ। भौतिक पूर्वाधार विकास मन्त्रालयका सचिव नुर मुहम्मद खाँलाई उर्जा, जलश्रोत तथा सिचाइ मन्त्रालयमा पठाइएको छ।
नयाँ का–को आउँदैछन्
प्रदेश ५ को मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा भरतमणि सुवेदीको ठाउँमा खगेन्द्र प्रसाद सुवेदी आउनेछन्। उनी हाल लोक सेवा आयोगमा छन्।
गृहमन्त्रालय अन्तर्गत रहेका रुपन्देहीका हालका प्रमुख जिल्ला अधिकारी माहादेव पन्थलाई सामाजिक विकास मन्त्रालयमा सरुवा गरिएको छ। पन्थको ठाउँमा नयाँ प्रमुख जिल्ला अधिकारीको रुपमा विजयराज पौडेल आउनेछन्।
उद्योग, पर्यटन वन तथा वातावरण मन्त्रालयमा संघीय सरकारको वन तथा वातावरण मन्त्रालयका राजेन्द्र केसी आउने छन्।
भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयको सचिवको रुपमा संघको कृषि तथा पशुपन्छी मन्त्रालयका सह सचिव रेवतीरमण पौडेललाई ल्याइने भएको छ। भौतिक पूर्वाधार विकास मन्त्रालयमा उर्जा जलश्रोत तथा सिचाइ मन्त्रालयबाट सुशीलचन्द्र तिवारी आउने छन्।