बुटवल । नेकपा एमाले र नेपाली कांग्रेसले लुम्बिनी प्रदेश सरकारमा जाने मन्त्रीको नाम टुंगो लगाएका छन् । मुख्यमन्त्री चेतनारायण आचार्यले बुधबार पद तथा गोपनीयताको सपथसँगै एकसाथ मन्त्री परिषद बिस्तार गर्ने योजना अनुसार एमाले कांग्रेसले मन्त्रीहरुको नाम टुंगो लगाएका हुन् ।
एमाले संसदीय दलका नेता लीला गिरीलाई रोकेर सांसद आचार्य सोमबार मुख्यमन्त्री नियुक्त हुनुभएको हो । एमालेबाट रुपन्देहीका भूमिश्वर ढकाल, गुल्मीका दिनेश पन्थी, पाल्पाका खेमबहादुर सारु मगर र दाङकी सीता शर्मा चौधरीले भोलि मन्त्रीको शपथ लिनेछन् ।
यसपटक मन्त्री दोहोरिनेमा ढकाल र पन्थी रहेका छन् । ढकाल यसअघि जोखबहादुर महराको नेतृत्वको सरकारमा शहरी विकासमन्त्री तथा पन्थी आन्तरिक मामिला मन्त्री हुनुहुन्थ्यो ।
लुम्बिनीमा नेपाली कांग्रेसबाट मन्त्री बन्नेहरुको नाम पनि टुंगो लागेको छ । कांग्रेसबाट ५ जना मन्त्री बन्दै छन् ।
कांग्रेसबाट प्रमुख सचेतक बर्दियाका जन्मजय तिमिल्सिना, गुल्मीका धनेन्द्र कार्की, प्यूठानका सरोज थापा, दाङका प्रचण्डविक्रम न्यौपाने र बाँकेका बादशाह कुर्मी मन्त्री बन्ने बताइएको छ । कांग्रेसबाट मन्त्री बन्न लागेका प्यूठानका थापाबाहेक सबै नयाँ अनुहार हुन् । थापा यसअघि उद्योग तथा यातायात व्यवस्थामन्त्री बन्नुभएको थियो ।
प्रमुख सचेतक तिमिल्सिनाको नेतृत्वमा कांग्रेस सरकारमा जान लागेको हो । मन्त्रालयको संख्या टुंगो लागे पनि मन्त्रालय टुंगो लाग्न बाँकी रहेकाले बुधबार सबै मन्त्रीको बिनाविभागीय मन्त्रीमा शपथग्रहण हुने सम्भावना रहेको मुख्यमन्त्री चेतनारायण आचार्यले बताउनुभयो ।
मुख्ममन्त्रीसहित मन्त्रीहरुको बुधबार बिहान साढे ८ बजेट बुटवलस्थित प्रदेश प्रमुख अमिक शेरचनको कार्यालयमा शपथग्रहण कार्यक्रम राखिएको छ ।