बुटवल । नेकपा (एमाले) रूपन्देहीको अध्यक्षमा यज्ञ गैरे निर्वाचित हुनुभएको छ । निवर्तमान कार्यसमितिका सचिव गैरेलाई समर्थन गर्दै अन्य उम्मेदवारहरूले उम्मेदवारी फिर्ता लिएपछि उहाँ निर्विरोध अध्यक्ष चुनिनुभएको हो ।
बुधबार सुरू भएको नेकपा एमाले रूपन्देहीको १० औं जिल्ला अधिवेशनमा नेतृत्वका लागि निवर्तमान अध्यक्ष तेजेन्द्र केसी सँगै उपसचिव चित्रबहादुर कार्की र हितराज पन्थीले प्रतिस्पर्धा गर्न खोज्नुभएको थियो । अन्तिम समयमा आएर केसीले आफ्नो उम्मेदवारी फिर्ता लिनुभयो भने हितराज पन्थी उपाध्यक्ष र चित्रबहादुर कार्कीले सचिवको जिम्मेवारी लिन सहमत भएपछि नेतृत्व सर्वसम्मत भएको हो ।
त्यसैगरी उपसचिवमा बाबुराम पन्थी र सुनिता ठटेर निर्विरोध निर्वाचित हुनुभएको छ । बिहीबार बिहानैदेखि सुरू भएको बन्द सत्रमा ८५७ जना प्रतिनिधि र पर्यवेक्षक गरी १ हजारभन्दा बढी सहभागी थिए ।
को हुनुहुन्छ नवनिर्वाचित अध्यक्ष गैरे ?
विसं. २०३० सालमा गुल्मीको तत्कालीन रुपाकोट हाल चन्द्रकोट गाउँपालिका–७ मा छबिलाल गैरे र जमुना गैरेको ज्येष्ठ सुपुत्रको रुपमा जन्मिएका यज्ञ गैरे २०४८ सालमा रुपन्देही झर्नुभएको हो । विसं.२०४३ सालमा अनेरास्ववियु एकता पाँचौँको सदस्यता लिनुभएका उहाँ अनेरास्ववियुको केन्द्रिय सदस्य हुँदै २०५५ सालमा बुटवल बहुमुखी क्याम्पसको स्ववियु सभापति भई स्ववियु काउन्सीलको केन्द्रिय कोषाध्यक्ष भएर विद्यार्थी फाटमा काम गर्नुभएको थियो ।
२०४८ सालमा एमालेको पार्टीको संगठित सदस्यता लिनुभएका गैरेले पार्टीको क्षेत्रीय कमिटी, जिल्ला कमिटी सदस्य हँुदै नवौं अधिवेशनमा रुपन्देही जिल्ला सचिवको जिम्मेवारी बहन गरीसक्नुभएको छ । हाल उहाँ पार्टीको १० औँ जिल्ला अधिवेशनबाट रुपन्देही अध्यक्षमा सर्वसम्मत हुनुभएको हो । नवनिर्वाचित अध्यक्ष गैरे यसअघि छत्तिस मौजा सामुदायिक सिंचाइ प्रणालीको अध्यक्ष, सोह्र–छत्तिस संयुक्त सिंचाइ प्रणालीको सभापति, राष्ट्रिय सिंचाइ जल उपभोक्ता महासंघको केन्द्रिय उपाध्यक्ष, करहिया मक्रहर खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाको अध्यक्षको समेत सफलतापूर्वक नेतृत्व सम्हालिसक्नुभएको छ ।
किसान आन्दोलनमार्फत समाज रुपान्तरणमा जोडिएका गैरे निर्वाहमुखी कृषिको व्यवसायीकरणको लागि राजनीतिक र सामाजिक क्षेत्रमार्फत अग्रसर रहनुभएको छ । तिलोत्तमा नगरपालिका वडा नम्बर ८ मा स्थायी बसोबास गर्दै आएका गैरेले १४७ नयाँ जिल्ला कमिटीको नेतृत्व गर्नुहुनेछ ।
अध्यक्षमा निर्वाचित भएपछि गैरेले संगठन सुदृढीकरणमा जोड दिने, कार्यकर्ताको मन मिलाएर एकीकृत भावनाका साथ अगाडि बढाउने, मिसन ८४ मा रुपन्देहीमा एमालेलाई नम्बर वान पार्टी बनाउने, पार्टीको जिल्ला कार्यालय निर्माण गर्ने, सबै कार्यकर्तालाई योग्यता क्षमताअनुसार जिम्मेवारी दिने गरी कार्यकर्तामाझ प्रतिबद्धता जनाउनु भएको छ ।