बुटवल । नेकपा (एमाले) बर्दियाको अध्यक्षमा शालिकराम अधिकारीको प्यानल नै विजयी भएको छ । दुईपटक अध्यक्ष भएका लालबहादुर श्रेष्ठको प्यानललाई पराजित गर्दै केन्द्रीय उपाध्यक्ष विष्णु पौडेलनिकट अधिकारीको प्यानल विजयी भएको हो ।
अधिकारी प्यानललाई एमाले उपाध्यक्ष पौडेल, पोलिटब्यूरो सदस्य तथा पूर्वमुख्यमन्त्री एवं जिल्ला इन्चार्ज लिला गिरी तथा एमाले प्रदेश अध्यक्ष राधाकृष्ण कँडेलको पनि साथ थियो । श्रेष्ठलाई महासचिव शंकर पोखरेलको साथ थियो । अधिकारीले १८० मतका साथ विजयी हुँदा श्रेष्ठले १७० मत ल्याउनुभयो ।
त्यस्तै उपाध्यक्षमा दुर्गा ओली १७९ मतका साथ विजयी हुनुभएको छ । उहाँका प्रतिस्पर्धी कृष्ण गौतमले १५९ मत ल्याउनुभयो । सचिवमा पदम ढकाल १७६ मतका साथ विजयी हुनुभएको छ । उहाँका प्रतिस्पर्धी नैनबहादुर खत्रीले १६८ मत पाउनुभयो । उपसचिवमा लहनु थारू १७८ मतका साथ विजयी हुनुभएको छ ।
उहाँका प्रतिस्पर्धी जीवन शाहीले १६८ मत मात्र ल्याउनुभयो । त्यस्तै अर्को उपसचिवमा संगीता थारू १८८ मतका साथ विजयी हुनुभयो । थारूका प्रतिस्पर्धी मन्जु शर्माले १५० मत मात्र ल्याउनुभयो । एमाले केन्द्रीय निर्वाचन आयोगका सदस्य डा. हरिप्रसाद भण्डारीका अनुसार अधिवेशनका लागि ३६४ जना प्रतिनिधि रहेकामा ३६१ जनाले मतदान गरेका थिए ।
अधिवेशनबाट १०५ सदस्यीय जिल्ला कमिटी निर्वाचित हुने पोलिटब्यूरो सदस्य तथा बर्दिया इन्चार्ज एवम् अधिवेशन अध्यक्ष मण्डलका अध्यक्ष लिला गिरीले जानकारी दिनुभयो ।