बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री जोखबहादुर महराले आज (शुक्रबार) विश्वासको मत लिनुहुने भएको छ । चैत २३ गते शुक्रबार मुख्यमन्त्रीमा नियुक्त हुनुभएका महराले गत आइतबार पद तथा गोपनीयताको शपथ लिनुभएको थियो । मुख्यमन्त्री नियुक्त भएको एक महिनाभित्र विश्वासको मत लिनुपर्ने व्यवस्था छ ।
महरालाई पाँच राजनीतिक दलका ४७ र एक स्वतन्त्र सांसद गरी ४८ जना प्रदेश सभा सदस्यको समर्थन छ । मुख्यमन्त्री महराले विश्वासको मत लिने प्रयोजनका लागि शुक्रबार दिउँसो १ बजे लुम्बिनी प्रदेशसभा बैठक सभामुख तुलाराम घर्ती मगरले तोक्नुभएको प्रदेशसभा सचिवालयका सचिव दुर्लभकुमार पुनले जानकारी दिनुभयो ।
महरालाई गठबन्धन दल एमालेका २९, माओवादी केन्द्रका १०, नागरिक उन्मुक्ति पार्टीका ४, जसपाका ३, नेकपा एसका १ र स्वतन्त्र सांसद खड्क बस्नेत गरी ४८ सांसदको समर्थनमा मुख्यमन्त्रीमा नियुक्त गरिएको हो । प्रदेशसभाका ८७ सांसदमध्ये बहुमतका लागि ४४ सांसद आवश्यक पर्छ ।
मुख्यमन्त्री महराले तीन जना मन्त्रीसमेत नियुक्त गरिसक्नुभएको छ । तर, उहाँहरुको जिम्मेवारी भने तोकिएको छैन । एमालेबाट दलका उपनेता चेतनारायण आचार्य, माओवादी केन्द्रबाट दिपेन्द्र पुन र जसपाबाट भण्डारीलाल अहिर मन्त्री बन्नुभएको छ ।
विश्वासको मत पाएपछि मात्रै मन्त्रीको जिम्मेवारी तोकिने र थप मन्त्री नियुक्त गर्ने तयारी मुख्यमन्त्रीको छ । १० मन्त्रालय रहेको लुम्बिनीमा बढाउने तयारी भइरहेको छ । नेकपा माओवादी केन्द्र संसदीय दलका नेता महरा नेपाली कांग्रेसका डिल्ली चौधरी नेतृत्वको सरकार ढलेसँगै लुम्बिनीको पाँचौँ मुख्यमन्त्री बन्नुभएको हो ।