बुटवल । लुम्बिनी प्रदेशका नवनियुक्त मुख्यमन्त्री जोखबहादुर महराले शपथ लिनुभएको छ । बुटवलस्थित प्रदेश प्रमुखको कार्यालयमा आइतबार आयोजित शपथग्रहण समारोहमा प्रदेश प्रमुख अमिक शेरचनले नेपालको संविधानको धारा १७२ बमोजिम मुख्यमन्त्री महरालाई पद तथा गोपनीयताको शपथ गराउनुभएको हो ।
प्रदेश प्रमुख शेरचनले महरालाई गत शुक्रबार मुख्यमन्त्रीमा नियुक्त गर्नुभएको थियो । नेकपा माओवादी केन्द्र संसदीय दलका नेता महरा नेपाली कांग्रेसका डिल्ली चौधरी नेतृत्वको सरकार ढलेसँगै लुम्बिनीको पाँचौं मुख्यमन्त्री बन्नुभएको हो ।
लुम्बिनी प्रदेशका नवनियुक्त मुख्यमन्त्री महराले आइतबार नै चार सदस्यीय मन्त्रिमण्डल पनि गठन गर्नुभएको छ । मुख्यमन्त्री महराको सिफारिसमा प्रदेश प्रमुख शेरचनले नेकपा एमालेबाट चेतनारायण आचार्य र नेकपा माओवादी केन्द्र दिपेन्द्र पुन मगर र जनता समाजवादी पार्टी (जसपा) बाट भण्डारीलाल अहिरलाई सपथ ग्रहण गराउनुभएको छ ।
आचार्य अर्घाखाँचीका, पुन रोल्पा र अहिर बाँकेका हुनुहुन्छ । उहाँहरूको जिम्मेवारी तोक्न भने, बाँकी छ । मुख्यमन्त्रीले आइतबार नैं दाङको देउखुरीस्थित कार्यालय पुगेर पदभार ग्रहण गरेका छन् । मुख्यमन्त्री महरालाई एमाले, जसपा, एकीकृत समाजवादी र स्वतन्त्र सांसदको समर्थन छ । उनीहरुलाई पनि मन्त्री बनाउने तयारी छ । १० मन्त्रालय रहेको लुम्बिनीमा बढाउने तयारी भइरहेको छ । ४८ सांसदको समर्थन सहित महरा संविधानको धारा १६८ को उपधारा (२) बमोजिम लुम्बिनी प्रदेशको मुख्यमन्त्री नियुक्त हुनुभएको हो ।
८७ सदस्यीय प्रदेश सभामा बहुमतका लागि ४४ सांसद आवश्यक पर्छन । सरकारलाई एमाले, माओवादी, जसपा, नागरिक उन्मुक्ति पार्टी (नाउपा), नेकपा एकीकृत समाजवादी र स्वतन्त्र सांसदको समर्थन रहेको छ । लुम्बिनीमा एमालेका २९, कांग्रेसका २७, माओवादी (सभामुख सहित) ११, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र नागरिक उन्मुक्तिका ४/४, जनता समाजवादी पार्टी (जसपा), जनमत पार्टी र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का ३/३, स्वतन्त्र, राष्ट्रिय जनमोर्चा र एकीकृत समाजवादीका १/१ जना सांसद छन् । लुम्बिनीमा १० राजनीतिक दलको प्रतिनिधित्व छ ।