बुटवल । नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीले देश परिवर्तन गर्न हिडेका नेताहरूले आफ्ना सन्तानलाई सुन बोकाउन सिकाएको टिप्पणी गर्नुभएको छ । शनिबार होटल तथा रेष्टुरेन्ट व्यवसायी संघ, रूपन्देहीको साधारणसभामा बोल्दै सांसद भण्डारीले नेताहरू सत्तामा पुगेर जनताको काम गर्लान् भन्दा आफ्ना छोराहरूलाई सुन्न तस्करी गर्न सिकाएको बताउनुभयो । नेता भण्डारीले १२ जना नेताकै कारण देशको आर्थिक अवस्था तहसनहस बनेको दावी गर्नुभयो ।
‘यस्ता नेताहरूबाट देश बन्छ भनेर कहिलेसम्म कुरिरहने’ नेताहरुलाई प्रश्न गर्दै भण्डारीले भन्नुभयो, ‘३४ वर्षदेखि एउटै अनुहारलाई भोट हालेर जिताइरेका नेपाली जनताहरूले अब विवेकपूर्ण निर्णय गर्नुपर्छ । जसले घुस खाँदैन उसलाई छान्नुस् त मुलुक दुई दिनमा बन्छ । नेताको दास बनेर देश बन्छ भन्नु कल्पना मात्र हुनेछ ।’
भैरहवाको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल र पोखरा विमानस्थल अलपत्र पर्नु अदूरदर्शी नेतृत्वका कारण भएको उहाँले बताउनुभयो । ‘नचलाउने भए यतिका धेरै खर्च गरेर किन एयरपोर्ट बनाउनु’ भण्डारीले भन्नुभयो, ‘एयरपोर्टका ठाउँमा सुनवलदेखि पोखरासम्म पाँच लेनको सडक बनाएको भए करोडौं भारतीय पर्यटकलाई भित्राउन सकिन्थ्यो । यो क्षेत्र आर्थिक रूपमा धेरै माथि जान्थ्यो । तर, कमिसनको लोभमा विकेका नेताले जनतालाई घात गरे ।’
सरकारले देशका १२ जना ठूला व्यापारीको मात्रै पक्षपोषण गरेकाले साना तथा मझौला व्यवसायीहरु संकटमा परेको भण्डारीले आरोप लगाउनुभयो । न्यायालय पनि ठूला व्यापारी थुनामा पर्दा उनीहरुकै प्रभावमा परेर छोड्न दबाब दिने गरेको उनको टिप्पणी थियो । चर्को कर र बैंक ब्याज दरका कारण नेपालको कृषि र अन्य व्यवसाय फस्टाउन नसकेको बरु संकटमा पर्दै गएको उहाँले औंल्याउनुभयो । देश बनाउन अब आउने चुनावमा भ्रष्ट नेताहरुलाई हराउन मतदाता पनि परिवर्तन हुनुपर्ने उहाँले आग्रह गर्नुभयो । नेता भण्डारीले नेपालमा सांसद र मन्त्रीको संख्या अत्यधिक धेरै भएकाले राजस्वले तलब खुवाउन पनि नपुग्ने अवस्था रहेको बताउनुभयो ।
कमिसन खानका लागि विदेशबाट ऋण लिएर पूर्वाधारमा अन्धाधुन्द लगानी गरिएको उहाँले बताउनुभयो । सरकारसंग वृद्धहरुलाई दिने मासिक ४ हजारका दरले दिने भत्ताको रकम पनि नभएको उल्लेख गर्दै वृद्ध भत्ताको साटो जन्मिएपछि बैंक खातामा ५ हजार जम्मा गर्दिने र बृद्धभत्ता खारेज गर्नुपर्ने तर्क गर्नुभयो । कार्यक्रम संघका अध्यक्ष लेखनाथ भण्डारीले बुटवलको पर्यटन क्षेत्रलाई चलाएमान बनाउन सबैको साथ र सहयोग आवश्यक रहेको बताउनुभयो । संघका वरिष्ठ उपाध्यक्ष माधव खनालको स्वागत तथा महासचिव अर्जुन थापाको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।