बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले चैत २२ गते बिहीबार विश्वासको मत लिनुहुने भएको छ । प्रदेश सरकारका प्रवक्ता तथा गृहन्मन्त्री सन्तोषकुमार पाण्डेयका अनुसार बिहीबार ४ बजे विश्वासको मत लिने तयारी रहेको छ । त्यसका लागि प्रदेश सभा बैठक आह्वान गर्न प्रदेश प्रमुखलाई सिफारिस पठाएकोसमेत प्रवक्ता पाण्डेयले बताउनुभयो ।
केन्द्रमा सत्तासमीकरण फेरिएसँगै लुम्बिनीमा माओवादी केन्द्रले २३ फागुनमा समर्थन फिर्ता लिएको थियो । दुई वा दुईभन्दा बढी पार्टी मिलेर सरकार निर्माण भएकाले सत्तासाझेदार दलले समर्थन फिर्ता लिएको एक महिनाभित्र विश्वासको मत लिनुपर्ने प्रावधान छ । सोहीअनुसार २२ चैतमा मुख्यमन्त्री चौधरीले विश्वासको मत लिन लाग्नुभएको हो ।
लुम्बिनीमा एमालेका २९, कांग्रेसका २७, माओवादी केन्द्रका १० (सभामुख बाहेक), राप्रपा र नागरिक उन्मुक्तिका चार–चारजना सांसद छन् । तर, राप्रपाका जानकीलाल यादव भ्रष्टाचारको मुद्दा दायर भएपछि निलम्बित छन् । जनता समाजवादी, लोकतान्त्रिक समाजवादी र जनमत पार्टीका तीन–तीनजना सांसद छन् भने एकीकृत समाजवादी र राष्ट्रिय जनमोर्चाका एक–एकजना सांसद छन् । एकजना स्वतन्त्र सांसद छन् ।
एमाले, माओवादी केन्द्र, जसपा, नागरिक उन्मुक्ति पार्टी र एकीकृत समाजवादी पार्टी हुँदा नयाँ समीकरणअनुसार बनेको गठबन्धनको बहुमत पुग्ने देखिन्छ ।
गत वैशाख १९ मा मुख्यमन्त्री चौधरीले विश्वासको मत पाउनुभएको थियो । चौधरीलाई ८७ जना प्रदेशसभा सदस्यमध्ये ५३ जनाले विश्वासको मत दिएका थिए भने विपक्षमा २९ मत परेको थियो ।
वैशाख १४ गते कांग्रेस, माओवादी केन्द्र, नागरिक उन्मुक्ति पार्टी, जनता समाजवादी पार्टी (जसपा) नेपाल, लोकतान्त्रिक समाजवादी पार्टी(लोसपा), जनमत पार्टी, राष्ट्रिय जनमोर्चा, नेकपा एकीकृत समाजवादी र एक जना स्वतन्त्र सांसदको समर्थनमा मुख्यमन्त्रीमा नियुक्त हुनुभएको थियो ।