बुटवल । नेपाली कांग्रेसका पूर्व उपसभापति विमलेन्द्र निधिले सबै प्रदेशमा प्रदेशको आफ्नै प्रहरी संगठन हुनुपर्ने बताउनु भएको छ । उहाँले प्रदेशको आफ्नै प्रहरी संगठन हुनुपर्छ भन्ने कुरा संविधामै लेखिएको बताउनुभयो । सातवटा प्रदेशका मुख्यमन्त्री र गृहमन्त्रीको हातमा प्रहरी छैन भने के को रुपान्तरण भन्दै प्रश्न गर्नुभयो ।
‘समुदायमा कांग्रेस’ अभियान अन्तर्गत मंगलबार नेपाली कांग्रेस जिल्ला, रूपन्देहीले भैरहवामा आयोजना गरेको कार्यक्रममा बोल्दै निधिले भन्नुभयो, ‘संविधानमै लेखिएको कुरा लागू तथा कार्यान्वयन गर्ने पहिलो काम सरकारको हो । सबै प्रदेश सरकारको आफ्नै प्रहरी संगठन हुनुपर्छ भन्ने कुरा म गृहमन्त्री हुँदा पनि भनेको हुँ ।’ यो विषयमा आफूले पटकपटक प्रधानमन्त्री, कांग्रेस सभापति तथा पार्टीको केन्द्रीय कार्यसमिति बैठकमा यो कुरा राखेको स्पष्ट पारे । पूर्व उपप्रधानमन्त्री समेत रहेका निधिलिे संघीय प्रणालीका लागि प्रदेश भए पनि प्रदेशको आफ्नै प्रहरी र कर्मचारी नरहेको बताउनुभयो । उहाँले संघीय प्रणाली अन्तर्गतका बाँकी र तत्काल गर्नुपर्ने कामहरु सम्पन्न गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई भेटेर भनेको जानकारी दिनुभयो ।
रुपान्तरण केन्द्रबाट प्रदेश र प्रदेशबाट स्थानीय तह, वडा र जनतामा जानुपर्ने उहाँको भनाइ छ । उहाँले स्थानीय तहले पाउनुपर्ने सम्पूर्ण अधिकार दिनुपर्ने र कतिपय कामका लागि काठमाडौं जानुपर्ने बाध्यताको अन्त्य गर्नुपर्नेमा जोड दिनुभयो । तीनै तहका सरकारलाई अधिकारसम्पन्न बनाउनुपर्ने उहाँले बताउनुभयो ।
नेता निधिले कांग्रेसको अगुवाइमा भएका क्रान्ति र आन्दोलन सफल भएको दावी गर्दै अरु पार्टीले गरेको आन्दोलन सफल हुन नसकेको बताउनुभयो । उहाँल्े भन्नुभयो, ‘नेपालमा संघीय लोकतान्त्रिक गणतन्त्रात्मक प्रणाली छ । देशमा जनताको शासन स्थापित हुनुपर्छ भन्ने शहीदको उद्देश्य रहेको थियो ।’
त्यस्तै नेपाली कांग्रेसका केन्द्रीय सदस्य चन्द्र के.सी.ले सत्यलाई बदल्न नसकिने बताउनुभयो । उहाँले काम गर्ने शैली फेरिए पनि प्रवृत्ति फेरिएन कि भन्दै प्रश्न उठेको बताउनुभयो । उहाँले समुदायमा कांग्रेस अभियान वडा केन्द्रीत भएको बताउनुभयो ।
कांग्रेस लुम्बिनी प्रदेश उपसभापति तथा लुम्बिनी प्रदेशका स्वास्थ्य मन्त्री राजु खनालले कांग्रेस जनताले विश्वास गरेको शक्तिशाली पार्टी भएको बताउनुभयो ।
उहाँले कांग्रेसले धेरै विकासका काम गरेको दावी गर्नुभयो । कार्यक्रममा कांग्रेस रुपन्देही जिल्ला सभापति रामकृष्ण खाण, पूर्व जिल्ला सभापति रामचन्द्र ढकाल, जिल्ला उपसभापति थानेश्वर घिमिरे, रुपन्देही क्षेत्र नम्बर ३ का सभापति मुकेश यादव, ३ का सभापति सुशील गुरुङ, महाधिवेशन प्रतिनिधि बालकुमारी घिमिरेलगायतले बोल्दै कांग्रेस जस्तो लोकप्रिय पार्टी अरु नभएको बताउनुभयो ।