लुम्बिनीमा राष्ट्रियसभा निर्वाचन सम्पन्न: ३०३ मत खस्यो
बुटवल । लुम्बिनी प्रदेशमा राष्ट्रियसभा निर्वाचन सम्पन्न भएको छ । कूल ३०५ मतदाता रहेकोमा ३०३ मत खसेको निर्वाचन अधिकृत कुलप्रसाद पाण्डेयले जानकारी दिनुभयो।
मतदानमा प्रदेशसभा तर्फबाट सबै ८७ मत खसेको र स्थानीय तहका दुई सय १८ मत मध्ये दुई सय १६ मत खसेको र दुई मत खस्न बाँकी रहेकामा मतदानको समय ३ बजे सम्म रहेपनि बाँकेको नरैनापुर गाउँपालिका उपाध्यक्ष जयन्तीदेवि श्रीवास्तव र रुपन्देहीको मायादेवी गाउँपालिका उपाध्यक्ष नर्वदा उपाध्याय आउननसक्ने जानकारी गराएपछि मतदानसम्बन्धी सम्पूर्ण काम सम्पन्न भएको निर्वाचन अधिकृत पाण्डेयले बताउनुभयोे ।
निर्वाचनमा ८७ प्रदेश सभा सदस्य र दुई १८ स्थानीय तहका प्रमुख उपप्रमुख गरी तीन सय पाँच मतदाता थिए ।
लुम्बिनी प्रदेशमा अन्य र महिला गरी दुई सदस्यका लागि छ जनाको उम्मेदवारी दर्ता भएको छ । सत्ता गठबन्धनका तर्फबाट नेकपा माओवादी केन्द्रले अन्यतर्फ रोल्पाका झक्कुप्रसाद सुवेदी र नेपाली कांग्रेसले महिलामा गुल्मीकी विष्णुकुमारी सापकोटालाई उम्मेदवार बनाएको छ ।
यस्तै नेकपा एमालेले अन्य क्लस्टरतर्फ पाल्पाका झपेन्द्रबहादुर घर्ती क्षेत्री र महिलातर्फ दाङकी तुलसाकुमारी केसीलाई उम्मेदवार बनाएको छ। जनमत पार्टीले अन्यमा नवलपरासीका बालगोविन्द चौधरीलाई उम्मेदवार बनाएको छ । राप्रपाले महिलामा कपिलवस्तुकी विजयालक्ष्मी सिंहलाई लाई उम्मेदवार बनाएको छ ।
अबको केही बेरमा मत गणना थालिने निर्वाचन अधिकृत पाण्डेयले जानकारी दिनुभयो ।