बुटवल–प्रदेश ५ सरकारले हिन्दू महिलाहरुको चाड हरितालिका तीज घरभित्रै सीमित गर्न आह्वान गरेको छ।
प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलले जनचाहना र जन आकांक्षा अनुसार परिवर्तनलाई संस्थागत गर्ने अभियानमा तीज पर्वले सार्थक भूमिका खेल्ने बताएका छन् ।
उनले नारीहरुको महान पर्व हरितालिका (तीज) को अवसरमा स्वदेश तथा विदेशमा रहेका समस्त महिला दिदीबहिनीहरुमा सुख, शान्ति र समृद्धिको शुभकामना व्यक्त गर्दै सो कुरा बताएका हुन् ।
‘तीज जस्ता पर्वमा ठूला खालका जमघटले जोखिम बढ्ने भएकाले त्यस्ता जमघट नगरी पारिवारिक रुपमा मात्रै मनाउन हार्दिक अपील गर्दछु–उनले भनेका छन्–कोभिड—१९ को जोखिम न्युनिकरणका लागि गरिएको लकडाउन र निषेधाज्ञाको पूर्णतः पालना गरेर अघि बढौं, लकडाउन र निषेधाज्ञाको पालनाले आफू, परिवार र समाजमा जोखिम कम हुने भएकाले आफू पनि पालना गरौं, अरुलाई पनि पालनाको लागि प्रेरित गरौं । कोभिड—१९ को महामारीलाई जितेपछि आगामी वर्षको तीज पर्वलाई हामीले विगतमा झै भव्य ढंगले मनाउने नै छौं ।’
उनले हरितालिका (तीज ) पर्व पारिवारिक मिलन गराउने र सामाजिक सद्भाव बढाउने पर्वको रुपमा रहेको भन्दै कोरोना विरुद्धको संघर्षलाई परिणाममुखी बनाउन सबैले सामाजिक दुरी कायम गर्दै दैनिकी अघि बढाउन आवश्यक रहेको बताएका छन् ।
उनले युगौंदेखि नेपालमा मौलिक ढंगले मानिदै आएको तीज पर्वले सामाजिक र राजनैतिक जागरण ल्याउन महत्वपूर्ण भूमिका खेलेको बताएका हुन।
उनले राज्यको माथिल्लो तहदेखि तल्लो तहसम्मका सबै संरचनामा महिलाको समानुपातिक प्रतिनिधित्वको व्यवस्था गरेर नेपालको संविधान विश्वमै नमूना भएको समेत दाबी गरेका छन् ।
उनले कोरोना विरुद्धको संघर्षलाई परिणाममुखी बनाउन सबैले सामाजिक दुरी कायम गर्दै दैनिकी अघि बढाउन र तीज पर्वमा ठूला खालका जमघटले जोखिम बढ्ने भएकाले त्यस्ता जमघट नगरी पारिवारिक रुपमा मात्रै मनाउन हार्दिक अपील गरेका छन् ।