बुटवल । नेकपा एमालेका उपाध्यक्ष तथा पूर्वअर्थमन्त्री विष्णु पौडेलले वर्तमान सरकारको ध्यान सत्ता टिकाउनमा मात्रै केन्द्रित भएको बताउनुभएको छ । जनताका समस्या समाधानप्रति सरकारले कुनै चासो र ध्यान नदिएको बताउँदै पौडेलले सरकार सत्ता र शक्ति बचाउनमा मात्र सरकार लागिपरेको बताउनुभयो ।
शनिबार बुटवलमा नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघ रुपन्देहीको २१ औँ साधारणसभा तथा १० औँ अधिवेसनको उद्घाटन गर्दै नेता पौडेलले देशका तमाम समस्या समाधान गर्न वर्तमान सरकारले नसक्ने दावी गर्नुभयो । उहाँले भन्नुभयो, ‘वर्तमान सरकार, जनताका मुद्दा, चासो, समस्याका विषयमा सरकार जानकार छैन जनताका समस्या समाधान गर्न एमाले नेतृत्वको आवश्यक छ,’ पौडेलले बढ्दो विज्ञान र प्रविधिको भरपुर उपयोग गर्दै त्यहीअनुसार नयाँ युवा पुस्ताले अनुसरण गर्दै अघि बढ्नुपर्नेमा जोड दिनुभयो ।
सोही अवसरमा नेता पौडेलले महासंघद्वारा नवनिर्मित राजेन्द्र स्मृति पुस्तकालय भवनको उद्घाटनसमेत गर्नुभएको थियो । समाजमा पठन संस्कृतीको विकास र विस्तार गर्न जरुरी रहेको उहाँले बताउनु भयो । नेता पौडेलले पुस्तकालयल व्यवस्थित रुपमा सञ्चालन हुने आशा व्यक्त गर्नुभयो ।
कार्यक्रममा जिल्ला अध्यक्ष रामकृष्ण चापागाईंले महासंघले आफ्नो नेतृत्वमा सम्पन्न गरेका विभिन्न कार्यक्रमहरुबारे चर्चा गर्दै कार्यकाल सफल बनाउन सहयोग गर्ने सबैलाई धन्यवाद दिनुभयो । पुस्तकायल व्यवस्थित रुपमा सञ्चालन गर्न आफू नेतृत्वमा नरहेपनि निरन्तर सहयोग गर्ने प्रतिबद्धता जनाउनुभयो ।