बुटवल । राष्ट्रिय सभाको निर्वाचनका लागि लुम्बिनी प्रदेशमा सत्ता गठबन्धनका उम्मेदवारले मनोनयन दर्ता गराएका छन् ।
सोमवार निर्वाचन अधिकृतको कार्यालय घोराही, दाङ पुगेर सत्ता गठबन्धनका तर्फबाट नेकपा माओवादी केन्द्रका झक्कुप्रसाद सुवेदी र नेपाली कांग्रेसकी विष्णुकुमारी सापकोटाले उम्मेदवारी दर्ता गराउनुभएको निर्वाचन अधिकृत कृपाशुर कार्कीले जानकारी दिनुभयो ।
नेकपा एमालेका कुमार दसौंदी र कांग्रेसकी अनिता देवकोटाको कार्यकाल सकिन लागेकाले आगामी माघ ११ गते नयाँ सदस्य छान्नका लागि प्रतिस्पर्धा हुन लागेको हो ।
सुवेदीले अन्यतर्फ र सापकोटा महिलातर्फ मनोनयन दर्ता गराउनुभएको हो । सुवेदी विसं.२०६४ सालको पहिलो संविधानसभामा काठमाडौं क्षेत्र नम्बर २ बाट तत्कालीन नेकपा एमाले महासचिव माधवकुमार नेपाललाई चुनाव हराएर चर्चामा आए पनि पछिल्लो समय गुमानाम जस्तै हुनुहन्थ्यो । रोल्पा घर भएका सुवेदी पार्टीको केन्द्रीय सदस्य हुनुहुन्छ ।
यस्तै उम्मेदवार सापकोटा पार्टी प्रदेश सदस्य हुनुहुन्छ । उहाँले कांग्रेस गुल्मी पार्टी सचिव तथा महिला संघ सभापतिको जिम्मेवारी पूरा गरिसक्नु भएको छ ।
कांग्रेसबाट पूर्व उपसभामुख तथा अर्घाखाँचीबाट निर्वाचनमा पराजित पुष्पा भुसाल उम्मेदवार बन्ने बताइए पनि अन्तिममा उनको नाम काटिएर सापकोटाले टिकट पाउनुभएको हो ।
लुम्बिनीमा सत्ता गठबन्धनको स्पष्ट बहुमत भएपछि जित निश्चित जस्तै छ ।
लुम्बिनीमा कुल मतभार ८ हजार ७५३ रहेको छ । जसमा नेकपा एमालेको २ हजार ८१०, कांग्रेसको ३ हजार १७९, माओवादी केन्द्रको १ हजार ३४३, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को २६९, नागरिक उन्मुक्ति पार्टी (नाउपा) को २१२, जनता समाजवादी पार्टी (जसपा) को २७३, लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) को २३५, जनमत पार्टीको १५९, नेकपा एकीकृत समाजवादीको ५३, राष्ट्रिय जनमोर्चाको १२९, जनता प्रगतिशील पार्टीको ३८ र स्वतन्त्रको ५३ मतभार छ ।