बुटवल । लुम्बिनी प्रदेशमा नेकपा एमालेले राष्ट्रिय सभाको लागि उम्मेदवारी दर्ता गराएको छ । निर्वाचनको अधिकृतको कार्यालय घोराही, दाङ पुगेर झपेन्द्र घर्ती र तुलसाकुमारी केसीले मनोनय दर्ता गराउनु भएको हो । अन्यतर्फ घर्ती र केसीले महिलातर्फ उम्मेदवारी दर्ता गराउनु भएको हो ।
प्रस्तावक गिरिधारीलाल न्यौपाने र तुलसी चौधरी समर्थक रहेर झपेन्द्र बहादुर घर्ती क्षेत्रीले उम्मेदवारी दर्ता गराउनु भएको छ । यस्तै नरुलाल चौधरी प्रस्तावक र सीता शर्मा समर्थक रहेर तुलसाकुमारी केसीले उम्मेदवारी दर्ता गराउनु भएको एमाले प्रदेश अध्यक्ष राधाकृष्ण कंडेलले जानकारी दिनुभयो । यसअघि एमाले जिल्ला पार्टी कार्यालयमा संक्षिप्त समारोहबीच पोलिटब्युरो सदस्य लिला गिरीले माला लगाएर पार्टीको उम्मेदवारको टिकट हस्तान्तरण गर्नुभएको थियो ।
लुम्बिनीमा राष्ट्रिय सभामा दुई पदका लागि निर्वाचन हुँदैछ । नेकपा एमालेका कुमार दसौंदी र कांग्रेसकी अनिता देवकोटाको कार्यकाल सकिन लागेकाले आगामी माघ ११ गते नयाँ सदस्य छान्नका लागि निर्वाचन हुन लागेको हो । घर्ती एमाले केन्द्रीय सल्लाहकार परिषद् सदस्य हुनुहुन्छ । उहाँ पूर्वपाल्पाको जिल्ला विकास समितिको सभापति पनि हुनु भएको थियो ।
त्यस्तै केसी अनेमसंघ केन्द्रीय सदस्य तथा एमाले लुम्बिनी प्रदेश सचिवालय सदस्य हुनुहुन्छ ।