काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय नयाँ नक्सामा नेपालको लिपुलेक, कालापानी, लिम्पियाधुरा लगायतका क्षेत्र पारेकोबारे छलफल गर्न सर्वपक्षीय बैठक बोलाएका छन्।
प्रधानमन्त्री ओलीका प्रेस सल्लाहाकार कुन्दन अर्यालका अनुसार बैठक शनिबार (भोलि) ४ बजे बोलाइएको हो। बैठकमा पूर्वप्रधानमन्त्री, पूर्वपरराष्ट्रमन्त्री र प्रमुख राजनीतिक दलका शीर्ष नेताहरुलाई बोलाईएको अर्यालले जनाकारी दिए।
‘भारतीय नक्सापछि उत्पन्न विवादबारे छलफल गर्न प्रधानमन्त्रीज्युले सर्वपक्षीय बैठक बोलाउनु भएको हो’, अर्यालले भने, ‘छलफलमा पूर्वप्रधानमन्त्री, पूर्व परराष्ट्रमन्त्री, र प्रमुख राजनीतिक दलका शीर्ष नेतालाई बोलाइएको छ।’
नयाँ नक्सामा नेपालको लिपुलेक, कालापानी र लिम्पियाधुराको केही भूभाग भारतले आफ्नोतर्फ पारेको छ।
भारतको यो कदमको सर्वत्र विरोध हुँदै आएको छ। यसअघि परराष्ट्र मन्त्रालयले विज्ञप्ति प्रकाशित गर्दै कालापानी क्षेत्र आफ्नो भएको दावी गरेको थियो।
प्रधानमन्त्री भारतको कदमप्रति मौन रहेको भन्दै आलोचना भइरहेका बेला उनले सर्वपक्षीय बैठक बोलाएका हुन्।
नेकपाकै केही नेताहरुले यसबारे छलफल गर्न सर्वपक्षीय बैठक बोलाउन प्रधानमन्त्रीसँग आग्रह गर्दै आएका थिए।