बुटवल । नेकपा एमालेको लुम्बिनी प्रदेशको नयाँ नेतृत्वका लागि आज हुने भनिएको मतदान स्थगित गरिएको छ। तयारी नपुगेको कारण आज निर्वाचन स्थगित गरी मंगलबार बिहान ७ बजेका लागि सारिएको निर्वाचन समितिले जनाएको छ। निर्वाचन आयोगका प्रमुख हरिप्रसाद भण्डारीले मंगलबार बिहान ७ बजेदेखि निर्वाचनको तयारी गरिएको जानकारी दिनुभयो।
अध्यक्षका आकांक्षी पाल्पाका राधाकृष्ण कँडेल र प्यूठानका हरि रिजाल प्यानल नै बनाएर चुनावी मैदानमा उत्रिएका छन् । कँडेल पक्षले एमाले उपाध्यक्ष विष्णु पौडेलको समर्थन रहेको र रिजाल पक्षले महासचिव शंकर पोखरेलको समर्थन रहेको प्रचार गरिरहेका छन् । दुवै पक्षले सचिवमा राखेका लक्ष्मण आचार्य भने निर्विरोध हुनुभएको छ ।
सचिवबाहेक अध्यक्ष, उपाध्यक्ष र दुई उपसचिव तथा सदस्यहरुमा निर्वाचन हुने भएको छ । भदौ १६ गतेदेखि प्रथम अधिवेशन सुरु भएको थियो ।