काठमाडौँ । नेपाली काँग्रेसले संवादको माध्यमबाट संसद्को गतिरोध अन्त्य गर्न पहल गर्ने भएको छ ।
काँग्रेस संसदीय दलको तीन दिन सम्म बसेको बैठकले संसद्को जारी गतिरोध अन्त्यका लागि सत्ता पक्ष र प्रती पक्ष सबै दलहरूसँग संवादको अग्रसरतामा संसद् सुचारु गर्न पहल गर्ने निर्णय गरेको प्रमुख सचेतक रमेश लेखकले जानकारी दिनुभयो ।
प्रमुख सचेतक लेखकले लगातारको संसद् अवरुद्धले जनतामा वितृष्णा पैदा हुने जोखिम बढ्ने भन्दै प्रमुख प्रतिपक्षी दल लाई संसद् सुचारु गर्न आग्रह गर्ने निर्णय पनि बैठकले गरेको बताउनुभयो ।
यस्तै बैठकले सुन प्रकरणप्रति पार्टीको गम्भीर ध्यानाकर्षण भएको भन्दै यस्ता कार्यको निस्तेज र नियन्त्रणका लागि सत्य तथ्य छानबिन गरी दोषीलाई कडा कारबाही गर्न सरकारसँग माग गरेको छ ।
बैठकले बाढी, पहिरो, लम्पिस्कीन, आँखा पाक्ने रोग, संसद्मा विचाराधीन विधेयक लगायतका विषयमा सरकारको ध्यानाकर्षण गराउँदै जनजीविकासँग सरोकार राख्ने विषयवस्तुमा संसद्मा आवाज उठाउन संसद् सुचारु हुनुपर्नेमा जोड दिएको छ ।