काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका सांसदहरूको अवरोधका कारण प्रतिनिधिसभाको आजको बैठक पनि स्थगित भएको छ ।
प्रतिपक्षी दल एमालेले सुन तस्करी काण्डको छानबिनका लागि उच्चस्तरीय छानविन समिति गठन हुनुपर्ने माग राख्दै नाराबाजी गरेपछि बैठक सञ्चालन हुन नसकी स्थगित भएको हो ।
बैठक सुरु हुनासाथ एमालेका सांसदहरुले उठेर विरोध जनाएपछि सभामुख देवराज घिमिरेले एमालेका सांसद सूर्य थापालाई बोल्न समय दिनुभयो ।
सांसद थापाले बोलिरहँदा सत्ता पक्षीय दलका सांसदहरु समेत सिटबाट उभिएपछि सभामुख घिमिरेले बैठक सञ्चालनका लागि सहयोग गर्न सांसदहरूसँग आग्रह गर्नुभयो ।
सभामुख घिमिरेले संसद्मा उठेका विषयमा सरकार र सदनको ध्यानाकर्षण भइसकेको र यस विषयमा सरकारका उपप्रधानमन्त्री एवं गृहमन्त्रीबाट समेत जवाफ आइसकेको भन्दै बैठक सुचारु गर्न पटक पटक आग्रह गर्नुभएको थियो ।
त्यसपछि पनि प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका सांसदहरु उठेर रोष्टम अगाडि नाराबाजी गर्न थालेपछि सभामुख घिमिरेले प्रतिनिधिसभाको बैठक स्थगित भएको सूचना दिनुभयो ।