काठमाडौँ । राष्ट्रियसभाको आजको बैठक कार्यसूचीमा प्रवेश नगरी स्थगित भएको छ ।
प्रतिपक्षी सांसदले सुन तस्करीको सम्बन्धमा गृहमन्त्री र अर्थमन्त्रीप्रति लक्षित गलत आरोप लगाएको भन्दै रेकर्डबाट हटाउन सत्तापक्ष सांसदको मागप्रति प्रतिपक्षी दलले विरोध जनाएपछि संसद् अवरोध भएको हो । यसअघि बैठकमा बोल्ने सांसदहरुले समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराउनुभएको छ ।
सभामा समय माग गरी बोल्दै सांसदहरुले पशुमा देखा परेको लंम्की स्किन रोगले धेरै पशुपन्छीको मरेको हुँदा किसानहरूमा क्षति पुगेको भन्दै उचित क्षतिपूर्ति र उपचारका लागि सरकारले ढिला गर्न नहुनेमा जोड दिनुभयो ।
सभामा सांसद अनिता देवकोटाले डेंगुबाट जोगिन, आँखा पाक्ने सङ्क्रमणबाट आम नागरिकलाई बचाउन स्थानीय तहसँग सहकार्य समन्वय गरी सचेतना र उचित स्वास्थ्य उपचारको व्यवस्थापन गर्न सरकारको ध्यानाकर्षण गराउनुभयो ।
सांसदहरुले बाढी पहिरोबाट मृत्यु तथा घाइते भएकाहरूको उपचार र क्षतिपूर्ति र अवरुद्ध सडक खुलाउन पनि सरकारको ध्यानाकर्षण गराउनुभयो ।
यस्तै, सांसदहरुले सुन तस्करमा संलग्नहरूको गम्भीरताका निष्पक्ष छानविन गरी कानुनी दायरामा ल्याउन सरकारपछि हट्न नहुने बताउनुभयो ।
राष्ट्रियसभाको अर्को बैठक साउन २६ गते शुक्रबार ११ः०० बजे बस्नेछ ।