काठमाडौं। सभामुख देवराज घिमिरेले सदनको अवरोध हटाउने विषयमा शीर्ष दलका नेताहरूसँग छलफल गर्ने हुनुभएको छ । आज संसद् बैठक बस्नअघि शीर्ष दलका नेतासँग छलफल गर्ने कार्यक्रम रहेको उहाँको निजी सचिवालयले जानकारी दिएको छ ।
सभामुख घिमिरेले हिजो सदनको अवरोध हटाउने विषयमा सचेतकहरूसँग छलफल गर्नुभएको थियो । तर छलफलमा सत्तापक्ष र प्रतिपक्ष दुवैले सुन तस्करी प्रकरणका विषयमा आआफ्नो अडान कायम राखेपछि उहाँले आज अपराह्न १२ बजे शीर्ष दलका नेतासँग सदन अवरोधको निकास खोज्न बैठक तय गर्नुभएको हो ।
हिजो बसेको बैठकमा सत्तापक्षका सचेतकहरूले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को निर्णयअनुसार नै भ्रष्टाचारको अनुसन्धानका लागि उच्चस्तरीय छानबिन समितिको आवश्यकता नभएको बताएको थियो । उहाँहरूले सरकारी निकाय नै पर्याप्त भएको अडान लिनुभएको थियो ।
यता, प्रतिपक्षका सांसदले अहिलेको सरकारी संयन्त्रले छानबिनको काम गर्न नसक्ने र ठूला दलका नेतालाई अनुसन्धानको दायरामा ल्याउन नसक्ने बताउनुभयो । उहाँहरूले उच्चस्तरीय छानबिन समिति गठन गरौँ भन्ने पक्षमा अडान लिनुभयो ।