काठमाडौ । आगामी मंसिर १४ गते हुने उपनिर्वाचनका लागि प्रतिनिधिसभा र प्रदेशसभा उम्मेदवारको बिहीबार मनोनयन दर्ता हुँदैछ । स्थानीय तहको मनोनयन दर्ता भने कात्तिक २७ गते तोकिएको छ ।
प्रतिनिधिसभा र प्रदेशसभा उम्मेदवारको मनोनयन दर्ता बिहीबार बिहान १० बजेदेखि दिउँसो १ बजेसम्म तोकिएको छ । प्रतिनिधिसभा र प्रदेशसभा उम्मेदवारहरूले सम्बन्धित क्षेत्रको निर्वाचन अधिकृतको कार्यालयमा मनोनयन दर्ता गराउन सक्नेछन् ।
मनोनयन दर्तापछि बिहीबारै दिउँसो साढे १ बजेदेखि ३ बजेसम्म मनोनयन दर्ता गराएका उम्मेदवारहरूको सूची प्रकाशित हुनेछ ।
भोलिपल्ट शुक्रबार बिहान ११ बजेदेखि अपराह्न ५ बजेसम्म उम्मेदवारहरूविरुद्ध उजुरी दिने समय निर्धारण गरिएको छ । २३ गते दिउँसो साढे १ बजेसम्म उजुरीउपर जाँचबुझ गरी सोही दिन दिउँसो ३ बजेदेखि पाँच बजेसम्म उम्मेदवारहरूको नामावली प्रकाशन गर्ने आयोगले जनाएको छ ।
कुनै उम्मेदवारहरूले नाम फिर्ता लिन चाहे २४ गते बिहान १० बजेदेखि १ बजेसम्मको समय निर्धारण गरिएको छ । त्यसपछि सोही दिन ३ बजेदेखि पाँच बजेसम्म उम्मेदवारहरूको अन्तिम नामावली प्रकाशत गर्ने कार्यक्रम छ ।
२५ गते बिहान ११ बजेदेखि अपराह्न चार बजेसम्म आयोगले उम्मेदवारहरूलाई निर्वाचन चिह्न प्रदान गर्ने छ ।
स्थानीय तहको मनोनयन दर्ता कात्तिक २७ गते
स्थानीय तहका उम्मेदरवाहरूको मनोनयन दर्ता भने २७ कात्तिकमा हुने छ । मतदान भने १४ मंसिरमै हुने छ ।
बिभिन्न कारणले रिक्त ५२ पदका लागि मंसिर १४ गते उपनिर्वाचन हुन लागेको हो । ३७ जिल्लामा हुने उपनिर्वाचनबाट प्रतिनिधिसभा सदस्य १, प्रदेशसभा सदस्य ३, स्थानीय तहको प्रमुख १, अध्यक्ष ३, उपाध्यक्ष १ र वडाअध्यक्ष ४३ पदमा जनप्रतिनिधि चुनिने छन् ।
उपनिर्वाचनमा भाग लिने दलहरूको संख्या १०१ छ । तीमध्ये सीके राउतको पार्टीसहित १६ नयाँ दल छन् ।
उपनिर्वाचनका लागि आयोगले २४७ मतदानस्थल र ५३७ मतदान केन्द्र तोकेको छ । यस्तै मुख्य निर्वाचन अधिकृत ३७ र निर्वाचन अधिकृत ११ जना नियुक्त गरिएको छ ।