काठमाडौं । राष्ट्रियसभामा विनियोजन विधेयक, २०८० का विभिन्न शीर्षक माथिको छलफलमा सकिएको छ । आगामी बैठकमा उक्त शीर्षकहरूमाथि उठेका प्रश्नको जवाफ हुनेछ ।
राष्ट्रियसभाको आजको बैठकमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, ऊर्जा तथा जलस्रोत मन्त्रालय, खानेपानी मन्त्रालय, अर्थ मन्त्रालय, श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय, विज्ञान तथा प्रविधि मन्त्रालय, कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय, कृषि तथा पशुपक्षी विकास मन्त्रालय, गृह मन्त्रालय, रक्षा मन्त्रालय, राष्ट्रिय योजना आयोग, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, उपराष्ट्रपतिको कार्यालय र राष्ट्रपति कार्यालयका विभिन्न शीर्षकमा छलफल भएको थियो ।
बैठकमा सांसदहरू ताराबहादुर सुवार, दुर्गा गुरुङ, जयन्तीदेवी राई, शेखरकुमार सिंह, तुलप्रसाद विश्वकर्मा, नारायण दाहाल, गोपीबहादुर सार्की अछामी, गोपालकुमार बस्नेत, सिंहबहादुर विश्वकर्मा, जीतेन्द्रनारायण देव, गोमादेवी तिमिल्सिना, बिना पोखरेल, मदनकुमारी साह, नरबहादुर विष्ट, रमेशजङ्ग रायमाझी र देवेन्द्र दाहाललगायतले छलफलमा भाग लिनुभएको थियो । बैठकमा उठेका विषयहरूको आगामी बैठकमा जवाफ दिने अध्यक्ष तिमिल्सिनाले जानकारी गराउनुभयो ।
यसअघि छलफलमा भाग लिँदै सांसदहरुले बजेट नीति र कार्यक्रममा भएका विषय समेटेर आउन नसकेको भन्दै आर्थिक प्रणाली र बजेट प्रणालीमा सुधार आवश्यक रहेको औँल्याउनुभयो । सांसदहरूले बजेट संशोधनसहित परिमार्जन गर्ने पद्धति विकास गर्नुपर्नेमा समेत जोड दिनुभयो ।
सांसदहरूले जनताको मौलिक हक कार्यान्वयनको प्रत्याभूति जनतालाई दिने कुरामा बजेट केन्द्रित हुनुपर्नेमा जोड दिँदै स्वास्थ्य क्षेत्रमा सरकारको लगानी अत्यन्त कम भएकोतर्फ समयमा नै ध्यान दिनुपर्ने बताउनुभयो । बजेट समन्यायिक, सन्तुलित र व्यवहारिक बन्न नसकेको तथा सङ्घीयता भनिए पनि हिजोकै एकात्मक शैलीको बजेट आएको भन्दै सांसदहरूले बजेट सङ्घीयताको मर्मअनुरुप आउनुपर्ने बताउनुभयो ।
सांसदहरूले सबै नागरिकमा खानेपानीको पहुँच पुर्याउने, जलस्रोतको संरक्षण गर्ने, सिँचाइको विकास गर्ने, कृषिको विकास गर्ने र उत्पादन बढाउने, हाइड्रोपावर र विद्युत् उत्पादन बढाउने र विद्युत् खपत गर्नेतर्फ बजेटले ध्यान दिन नसकेको आरोप लगाउनुभयो ।
बजेट जनभावना, नीति तथा कार्यक्रम अनुकूल हुनुपर्ने, कार्यान्वयनमुखी बनाइनुपर्ने, जनता र आवश्यकतासँग जोड्ने खालको बजेट आउनुपर्ने तथा बजेट कार्यान्वयनमुखी हुनुपर्नेमा समेत सांसदहरूले जोड दिनुभयो । सांसदहरूले पहुँचको आधारमा भन्दा पनि आवश्यकताको आधारमा बजेट विनियोजन हुनुपर्ने, बजेटले आजको आवश्यकता र मागलाई ध्यान दिनुपर्ने, हरेक गाउँपालिकामा अस्पताल बनाउने, पूर्वाधारको विकास गर्ने कुरालाई बजेटले ध्यान दिनुपर्ने बताउनुभयो ।
यस्तै बैठकले राष्ट्रियसभाका पूर्वसदस्य लालकाजी गुरुङको निधनप्रति शोक प्रस्ताव पारित गरेको छ । गुरुङको असार २३ गते ८३ वर्षको उमेरमा निधन भएको थियो । राष्ट्रियसभाको अर्को बैठक असार २७ गते बुधवार बिहान ११ बजे बस्नेछ ।