बुटवल। नेकपा एमालेले लुम्बिनी प्रदेश सभामा बजेटमाथिको छलफल बहिष्कार गरेको छ । राजनीतिक पूर्वाग्रहका आधारमा क्रमागत योजनामा बजेट कटौती गरेको र निर्देशनालयहरु खारेज गरेको भन्दै बजेटमाथिको छलफल बहिष्कार गरिएको हो ।
मंगलबार आर्थिक वर्ष २०८०र८१ को बजेट वक्तव्यमाथि छलफलका लागि बोलाइएको बैठक एमालेले बहिष्कार गरेको हो । प्रदेशसभा बैठक सुरु हुनेवित्तिकै एमाले सांसदहरु उठेर विरोध जनाएका थिए ।
प्रदेशसभा बैठक बहिष्कार गरेर एमाले प्रदेशसभा सदस्यहरु नाराबाजी गर्दै बाहिरिएका थिए ।
एमालेले प्रदेशसभा संसदीय दलको कार्यालयमा पत्रकार सम्मेलन गरी निर्देशनालयहरु खारेजी फिर्ता र क्रमागत योजनामा बजेट नराखेसम्म प्रदेश सभामा विरोध जारी राख्ने जनाएको छ ।
विगतको सरकारले सञ्चालन गरेका बहुवर्षीय तथा गौरवका योजनाहरुलाई अलपत्र पार्ने उद्देश्यका साथ अति न्यून बजेट विनियोजन गरेको पनि एमालेको भनाइ छ ।
एमाले संसदीय दलका नेता लीला गिरीले विज्ञप्ति जनजिविकाका सवाललाई बेवास्ता गरी आफ्ना कार्यकर्ता पोस्ने गरी बजेट ल्याएको भन्दै विरोध जनाउनुभयो । उहाँले बजेट पूर्वाग्रही ढंगले आएकाले सच्चाउनुपर्ने माग गर्नुभएको छ ।